बिर्तामोड, असार २ । बिर्तामोड नगर अस्पतालमा बालरोग विशेषज्ञको सेवा थप गरिएको छ ।

असार १ गते शुक्रवारदेखि बालरोग विशेषज्ञ सेवा सुरु गरिएको हो ।
शनिबारबाहेक हरेक दिन विहान १० देखि दिउँसो १२ बजेसम्म यो सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.सुनिल अधिकारीले जानकारी दिए ।उनले बालरोग सम्बन्धीका विरामीहरुलाई अब विशेषज्ञ डाक्टर रविन रेग्मीले जाँच गर्ने बताए ।

नगर अस्पतालमा २४सै घण्टा निःशुल्क नर्मल डेलिभरी (प्रसूति) सेवासमेत सुरु हुने भएको छ । असार ३ गते आइतबारदेखि डेलिभरी सेवा सुरु गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिए ।उनले केही समयपछि स्त्री तथा प्रसूति रोग विशेषज्ञको सेवा पनि सुरु गर्ने बताए ।
नगर अस्पतालमा सेवा थपिने क्रम बढ्दो छ । आवश्यक पूर्वाधार र सेवा विस्तार हुँदै गएपछि अस्पतालमा दैनिक ३ सय ५० जनाभन्दा बढीले विभिन्न प्रकारका सेवा लिइरहेका छन् । अस्पतालमा डाइलोसिस सेवा र २४ सै घण्टा इमरजेन्सी सेवाको तयारी समेत अन्तिम चरणमा पुगेको जनाइएको छ ।

अस्पतालमा हाल दैनिक एमडीजिपी (मेसु) डा. अधिकारी र बालरोग विशेषज्ञ डाक्टर रेग्मी गरी २ जना विशेषज्ञ, ३ जना मेडिकल अधिकृत, ल्याव टेक्नोलोजिष्ट, एसबिए तालिमप्राप्त नर्स सहित ३६ जनाले सेवा दिइरहेका छन् ।
अस्पतालमा सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला ल्याव,बच्चाहरुको नियमित खोपलगायतका सेवाहरु पनि उपलब्ध छन् ।निकट भविष्यमा नै रेबिजको भ्याक्सिन र थाइराइड टेस्टसमेत हुने जनाइएको छ ।

नगर अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन अर्को भवनसमेत निर्माणाधिन अवस्थामा छ । अस्पताल सुविधासम्पन्न भएपछि सर्वसाधारणले निजी अस्पतालहरुमा महँगो मूल्यमा चेकजाँच तथा उपचार गराउनु पर्ने बाध्यता हट्ने आशा गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्