झापा, असार ३ ।अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । साथै ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुगेको छ । हेवा खोलामा आएको बाढीमा पर्दा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका छन् ।

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको आयोजनाका कर्मचारी राम थापाले जानकारी दिए ।
त्यस्तै बाढीले फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए । बेपत्ताहरूको नाम खुल्न बाँकी छ ।
बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यस्तै याङवरक गाउँपालिका ३ र २ मा घरहरू बगाएको खबर आए पनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै पाँचथरका विभिन्न ठाउँमा पशुभाउ पनि बगाएको प्रहरीले जानकारी दिएको छ ।

उता संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीमा परेर बेपत्ता १८ जना बेपत्ता भएका थिए । त्यसमध्ये २ जना प्रहरीको सम्पर्कमा आएका छन् । १६ जना अझै सम्पर्कविहीन छन् । भेटिएको शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको हो ।
बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए । हेवा हाइड्रोपावर काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको गोदारले बताए । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको उनले बताए ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ । खोला किनार क्षेत्रमा–४ घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्