झापा , असार ३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्वी पहाडी जिल्लामा गएको बाढी पहिरोका कारण सडक र पुल मात्रै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा बाढीले पुर्याएको क्षतिबारे जानकारी दिँदै भौतिक मन्त्रालय अन्तर्गत पुल र सडकको मात्रै ५० करोड रुपैयाँ बढीको क्षति भएको बताएका हुन् । ‘बाढी पहिरोले धेरै ठुलो जनधनको क्षति भएको छ । केही व्यक्तिको ज्यान गएको र कतिपय बेपत्ता हुनुहुन्छ’, मन्त्री ज्वालाले भने, ‘सरकारले बेपत्ता नागरिकको उद्धार र पीडितको राहातका लागि तीव्र काम गरिरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोज तथा उद्धारमा खटिएका छन् ।’ उनले ताप्लेजुङ र पाँचथर जोड्ने मेची राजमार्गको ४६ मिटर लामो हेवा खोला पुल भत्किएपछि ताप्लेजुङ यातायातको सम्पर्कबाट पूणर्रुपमा विच्छेद भएको पनि जानकारी दिए । अरुण कोरिडोरमा ५ सय मिटर सडक बगेको, पांग्रेभिरको सडक खुलाउने प्रयास सुरु भैसकेको ,फालेलुङको पुल बगेको, फिदिम यासोक सडक अवरुद्ध भएको , कान्छी दोकान अवरुद्ध भएको, चिया भन्ज्याङको फलौचा बजारको मेवा खोला पुल भत्किएको पनि जानकारी दिए । उनले भौतिक मन्त्रालय अन्तर्गत मात्रै ५० करोड रुपैयाँ बराबरको सडक र पुलको क्षति भएको जानकारी दिए ।