झापा , असार ३ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका-६, मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चारमध्ये एकजनाको शव फेलापरेको छ ।

a

पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेलापरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता तीनजनाको खोजीकार्य भइरहेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले मेहेलेमा भालुखोपका एकै परिवारका तीनजना बेपत्ता भएका जानकारी दिए । उनका अनुसार बेपत्ता हुनेमा यादव बुढाक्षेत्रीकी ६३ वर्षीया श्रीमती भगीमाया, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति ९ वर्षीय प्रज्वल बुढाक्षेत्री रहेका छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी कुशराम कार्कीका अनुसार मेहेलेका यादव बुढाक्षेत्री र रामबहादुर तामाङको घर पहिरोमा बगेको छ । “यादव सिरिजंघा गाउँपालिका-५, पेदाङस्थित दिदीको घरमा गएका थिए । पहिरोले घरमा रहेका उनका श्रीमती, बुहारी र नातिलाई बगाएको हो,” उनले भने, “बुबाआमालाई सुरक्षित स्थानमा सार्दै गर्दा गणेशलाई पहिरोले बगाएको थियो ।” जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले सिदिङ्वा गाउँपालिका-३, आङखोप इलाबोटेस्थितमा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङका गरी चार घरमा पूर्ण  रूपमा क्षति पुगेको छ । मेहेलेस्थित सदाकुटी डाँडाबाट झरेको पहिरोले करिब २० घरपरिवार जोखिममा परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्