झापा , असार ३ । ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आइतबार घरेलु टोली जिम्बाबेलाई दुई सय ९१ रनको विजय लक्ष्य दिएको छ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रन बनाएको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय भुर्तेल र आसिफ शेखले एक सय ७१ रनको साझेदारी गरेका थिए । भुर्तेलले ९९ रनको योगदान गरे । केवल एक रनका कारण सतक पूरा गर्नबाट चुकेका उनले ९५ बलको सामना गरी दुई छक्का र १३ वटा चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेखले पनि ६६ रन बनाए । उनले एक सय बलको सामना गरी सात चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले पनि टोलीको खातामा ४१ रन थपे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ४२ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काएका थिए । कप्तान रोहित पौडेलले पनि ३१ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका पौडेलले २९ बलमा पाँच चौका प्रहार गरे । आरिफ शेखले १० र गुल्सन झाले १३ रन जोडे । भीम सार्की भने शून्य रनमै पेभेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । करण केसीले अविजित दुई रन जोडे । जिम्बाबेका बलर रिचर्ड नागाराभाले चार विकेट लिए । वेलिङ्टन मासाकाद्जाले पनि दुई विकेट हात पारे । टेन्डाई चाटाराले एक विकेट लिए । नेपालले अतिरिक्त रुपमा २२ रन पाएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्