झापा,असार ४ । शनिबार रातिको बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा पाँच जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता छन् ।

तीनै जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सडक, पुललगायतका संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ । निर्माणाधीन र निर्माण सकिएका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

बाढीपहिरोमा परी पाँचथरमा दुई तथा संखुवासभा र ताप्लेजुङमा एक–एक जनाको मृत्यु भएको छ । यस्तै, धनकुटाको छथर जोरपाटी–४ तेलियास्थित तमोर नदी किनारमा आइतबार साँझ एक महिलाको शव फेला परेको छ, जसको सनाखत हुन सकेको छैन । संखुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन् ।

संखुवासभामा हेवा खोलाको बाढीले पाँचखपन नगरपालिका–९ का सन्तोष राईको ज्यान लिएको छ । चैनपुर नगरपालिका–४ मा निर्माणाधीन ६ मेगावाटको सुपर हेवा हाइड्रोपावरका १८ जना सम्पर्कविहीन छन्। खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भन्ने आइतबार अबेरसम्म यकिन हुन नसकेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । उनका अनुसार उक्त हाइड्रोपावरको संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ । हाइड्रोपावरमा कार्यरत राजेश श्रेष्ठ, टीकाराम थारू र दीपकराज थारू घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

चैनपुर–४ र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढीले जनधनको क्षति गरेको हो । बाढीले पाँचखपन र चैनपुर जोड्ने मोटरेबल पुल पनि बगाएको छ । पूर्वाधार विकास कार्यालयले गत वर्ष मात्र उक्त पुल बनाइसकेको थियो । खोला किनार आसपासका ८ घर बगेको छ । बाढीले निर्माण सामग्री, ढुवानी र सवारीसाधन पनि बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेतीयोग्य जमिन बालुवा र हिलोले पुरिएको छ । सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता छन् ।
बेपत्ताको खोजीका लागि आइतबार बिहानैदेखि सुरक्षाकर्मी र स्थानीय जुटेका थिए । प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर धनजनको क्षतिबारे अवगत गराउँदै उद्धार र राहतका लागि पहल गर्न आग्रह गरेको छ । कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो, प्रदेश सदस्य विदुर लिङ्थेप, सेनाका पृतनापति आशबहादुर तामाङ, सशस्त्रका डीआईजी अन्जनी पोखरेललगायतले हेलिकोप्टरबाट प्रभावित क्षेत्र निरीक्षण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्