झापा , असार ४ । ताप्लेजुङको सिदिङवा गाउँपालिका ६ मेहेलेको पहिरोमा परी बेपत्ता भएका केशरकुमार राई मृत भेटिएका छन् ।

पहिरोले बगाएको ठाउँबाट उनलाई ४ सय मिटर तल मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।
पहिरोमा परी गम्भीर अवस्थामा उद्धार गरिएका उनैका छोरा सुरेश राईको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशराम कार्कीले बताए । प्राथमिक उपचार समेत पाउन नसकी सुरेशको मृत्यु भएको मेहेलेमै रहेकी जिल्ला समन्वय समिति सदस्य चन्द्रकला कडरियाले बताइन् । स्वास्थ्य चौकी आइतबार पहिरोले बगाएको र थप स्वास्थ्य सामग्री नभएकोले उपचारमा कठिनाई भएको हो । ताप्लेजुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । आइतबार गणेश तामाङको मृत्यु भएको थियो । पहिरोबाट उद्धार गरिएका राजकुमार राईलाई सरकारले उपचारका लागि पठाउने भने पनि अहिलेसम्म हेलिकप्टर नआएको स्थानीयले बताएका छन् । प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले गृह मन्त्रालयले हेलिकप्टर पठाइसकेको बताएका छन् ।
ताप्लेजुङमा पहिरोमा दुईजना घाइते र तीनजना बेपत्ता छन् । ६३ वर्षीया भगिमाया, ३३ वर्षीया सन्ध्या र ९ वर्षका प्रज्वल बेपत्ता रहेका छन् । पहिरोका कारण समस्यामा परेक परिवारलाई सुरक्षित ठाउँमा सार्न कठिन भइरहेको सिदिङवा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्