झापा , असार ४ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा मानवीय क्षति हुनुका साथै विभिन्न संरचनाको पूर्णरुपमा क्षति भएको छ ।

निरन्तर वर्षासँगै बाढीपहिरोले ताप्लेजुङमा ठूलो क्षति गराएको हो । शनिबार राति गएको बाढी पहिरोले ताप्लेजुङको सिदिङवा-५ मेहेलेमा एक युवकको मृत्यु भएको छ । त्यस्तै तीनजना बेपत्ता रहेका छन् । बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोमा परी मैवाखोला गाउँपालिकामा एक जना घाइते भएको छ । उनको उपचार भइरहेको छ । सिरिजङ्गा गाउँपालिकामा सात घर , सिदिङवा गाउँपालिकामा २१ घर, मैवाखोला गाउँपालिकामा २१ र पाथीभरा याङवरक गाउँपालिका एक गरी ५१ घर परिवार उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यता सिरिजङ्गामा एक, सिदिङवामा एक र मैवाखोलामा एक गरी तीन पक्की मोटरेबल पुल पूर्णरुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै ताप्लेजुङको विभिन्न क्षेत्रमा पाँच झोलुङ्गे पुल बाढीले बगाएको छ । पुल बगाएसँगै एक ठाउँबाट अर्को ठाउँमा जान समेत बन्द भएको छ । सिदिङवा, मैवाखोला र सिदिङवा गाउँपालिकामा गाई पाँच, भैँसी दुई बाख्रा आठ बाढीले बगाएको जिल्ला प्रशासशन कार्यालय ताप्लेजुङले जनाएको छ । सिरिजङ्गामा चार, सिदिङवामा चार र पाथीभरा याङवरकामा एक गरि ९ घर पूर्णरुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै सिदिङवामा एक र सिरिजंगामा एक गरी दुई विद्युत् गृह पूर्णरुपमा क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गा-८ याम्फुदीनमा र ७ खेवाङमा गरी सात सरकारी कार्यालय पूर्ण रुपमा क्षति भएको छ । सिरिजङ्गा-८ मा सञ्चालन रहेको एक क्रसर उद्योगसमेत बाढीले बगाएको छ । त्यस्तै एक कुखुरा फर्म पूर्ण रुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ । सिरिजङ्गा -८ याम्फुदीनमा एक सामुदायिक विद्यालयसमेत बाढीले बगाएको समितिले जनाएको छ ।

उद्धारमा सास्ती
ताप्लेजुङमा आइतबार आन्तरिक तथा बाह्य यातायातका साधन सञ्चालन हुन सकेन । निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपत्ताको लागि खोज तथा उद्धार कार्यका लागि सास्ती भएको हो । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि ताप्लेजुङ, पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए । तमोर नदीसहित तमोर करिडोर अन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्ध भएकाले छोटो र लामो दूरी छुट्ने सवारीसाधन ताप्लेजुङदेखि छुट्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता कार्कीका अनुसार बिहीबार राति आएको बाढीले मेहले र खेवाङ जोड्ने पुल भत्काएको छ । अविरल वर्षासँगै गएराति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सडक बगाएको छ । सडक अवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । व्यवस्थापन समितिका अनुसार दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित स्थानमा सरेका छन् । सिरीजङ्घाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ । उक्त ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन् । विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामासमेत बाढीपहिरोले क्षति पुगेको छ । विद्युत् आपूर्ति बन्द भएको छ । गएराति ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा बाढी पहिर सडक र पुलमा क्षति पुर्‍याउँदा करिब रु ५० करोड रकम बराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्