झापा, असार ५ । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।

उपचारका क्रममा मन्त्री सिंहको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजले मृत घोषणा गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भरत बोहराका अनुसार अस्पतालले मन्त्री सिंहलाई ५ बजेर ३३ मिनेटमा मृत घोषणा गरेको हो ।

गम्भीर घाइते भएका सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो । दुर्घटनामा परेका मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको भने बझाङको केदारस्युँ गाउँपालिकामा रहेको देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनार बजुवा बगरमा खसेको थियो । मन्त्री सिंह गत चुनाव बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्