एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २ सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो पुरुष खेलाडी बनेका छन् ।

युरो २०२४ छनोट अन्तरर्गत आइसल्याण्डविरुद्धको खेलमा रोनाल्डोले यो कीर्तिमान बनाएका हुन् । खेलमा रोनाल्डोकै एक मात्र गोल निणर्ायक बन्यो । ३८ वर्षीय खेलाडीले खेलको ८९ औँ मिनेटमा गोन्कालो इनासियोको पासमा गोल गर्दै टोलीलाई जीत दिलाए । गोललाई सुरुमा अफसाइड करार गरे पनि भिडियो एसिस्टेट रेफ्रीले उक्त निणर्यलाई उल्टाएका थिए । योसँगै रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा आफ्नो कीर्तिमानी गोल सङ्ख्या १२३ पुर्याएका छन् । रोनाल्डोले कुवेतका फरवार्ड बाडेल अल-मुतावाको १९६ खेलको रेकर्ड गत मार्चमा तोडेका थिए । गिनिज बुक अफ वर्ल्ड रेकर्डले खेलअघि रोनाल्डोलाई सर्टिफिकेट समेत हस्तान्तरण गरेको थियो । सन् २००३ मा पोर्चुगलका लागि डेब्यु गरेका रोनाल्डोले देशका लागि खेल्न थालेको २० वर्ष पुगेको छ । उनले यसबीचमा स्पोर्टिङ लिसबन, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र साउदी अरबको अल-नासेरबाट व्यावसायिक फुटबल खेलेका छन् । यस क्रममा उनले ५ पटक बालोन डि’ओरको उपाधि पनि हात पारेका छन् । युरोपियन छनोटमा उनको पाँचौँ गोलको मद्दतले पोर्चुगलले ४ खेलमा चारवटामै जीत हासिल गर्न सफल भएको छ । समूह जेमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।



