झापा , असार ६ । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई जोड्ने हेंवा खोलामा बेलिब्रिज निर्माणको काम मंगलबारदेखि सुरु भएको छ ।

मौसमले साथ दिए १५ दिनभित्र निर्माण कार्य सम्पन्न गरी राजमार्गमा यातायात सुचारु गर्ने लक्ष्य राखिएको छ । शनिबार राति आएको बाढीले हेंवा खोलाको पक्की पुल भत्काएपछि मेची राजमार्गमा यातायात ठप्प छ । राजमार्गको पक्की पुल नै भत्किएपछि पाँचथरका हिलिहाङ, याङवरक, फालेलुङ गाउँपालिका र ताप्लेजुङ जिल्ला नै यातायातबाट विच्छेद भएको छ । यातायात ठप्प भएपछि ताप्लेजुङ तर्फका मानिसहरुको दैनिकी प्रभावित बनेको छ । राजमार्गलाई छिटो सूचारु गर्ने उद्देश्यले तत्कालका लागि बेलिब्रिज निर्माणको काम थालिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीले जानकारी दिए । ‘बाढीपहिरो प्रभावित क्षेत्रका मानिसहरुको दैनिकीलाई सहज बनाउन ब्रिज निर्माणको कामलाई प्राथमिकता दिएका छौँ,’ मंग्रान्तीले भने। सडक डिभिजन कार्यालय इलामले ब्रिज निर्माणको काम अघि बढाएको हो।

‘मौसमले साथ दिए १५ देखि २० दिन भित्रमा ब्रिज निर्माण गरी सक्ने लक्ष्य छ,’ सडक डिभिजन कार्यालय इलामका इञ्जिनियर बिपिन ढुंगानाले भने, ‘पुल भत्किएपछि राजमार्ग नै अवरुद्ध भएकाले बिज्र निर्माण कार्यालाई तिव्रता दिन्छौँ।’ ब्रिज निर्माणका लागि आवश्यक सामग्रीहरु ल्याउने काम जारी छ । सडक डिभिजन कार्यालय इलामबाट सामग्रीहरु ल्याइएको हो । ४८ मिटर लम्बाइ रहेको ब्रिज निर्माण गर्न थालिएको हो । यसअघि पक्की पुल रहेकै स्थानमा ब्रिज निर्माण गर्न थालिएको हो। इञ्जिनियर ढुंगानाका अनुसार पुलको फिदिमतर्फको एभ्यूटमेन्ट पूणर् रुपमा क्षति भएको छ। हिलिहाङतर्फ आंशिक क्षति छ । फिदिमतर्फ ग्याबिन एभ्युटमेन्ट बनाएर पुल बनाउन लागिएको हो । ‘ग्याबिन वाल र ढलाई गर्न सात दिन लाग्ने अनुमान छ ,’ ढुंगानाले भने, ‘पुल फिट गर्न थप सातदेखि १० दिन लाग्न सक्छ ।’ ब्रिज सम्पन्न गर्न सडक डिभिजनको करिब दुई करोड खर्च लाग्ने अनुमान गरिएको छ । खोलामा पानीको बहाव घटेपछि पुल निर्माण स्थल नजिकै अस्थाइ डाइभर्सन समेत बनाउने तयारी छ । ‘अस्थाइ रुपमा यातायात सञ्चालन गर्न तत्काललाई डाईभर्सन समेत निर्माण गर्ने तयारी गरेका छौँ,’ ढुंगानाले भने।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्