बिर्तामोड, असार ६ । बिर्तामोड नगर अस्पतालमा सेवा लिन दैनिक ४ सयको हाराहारीमा सेवाग्राही जान्छन् । त्यसबाहेक अस्पतालमा ३५ जना स्वास्थ्यकर्मी कार्यरत छन् । ती सेवाग्राही , स्वास्थ्यकर्मी र स्थानीयगरी धेरैैले आवतजावत गर्ने बिर्तामोड नगर अस्पताल जाने सडकलाई ठेकेदारले अलपत्र पारेर छोडेका छन् ।

कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि आवतजावतका लागि निकै समस्या भएको हो । सेवाग्राही , स्वास्थ्यकर्मी र स्थानीयहरुलाई सो बाटो भएर हिड्न कठिन भएको छ । मानिसहरु बीच बाटोबाट हिड्न नसकी प्लमबाट हिड्नुपर्ने बाध्यता छ । ४७१ मिटर लम्बाई र ८ मिटर चौडाई कालोपत्रे र प्लम निर्माण गर्नका लागि ओमसाई निर्माण सेवाका प्रोप्राइटर हिमाल सिटौलाले ८२ लाख ८३ हजार ३४६ रुपैयाँमा ठेक्का लिएका थिए । फागुन १५ गते ठेक्का संझौता गरेका सिटौलाले असार ५ मा काम सक्नुपर्ने म्याद रहेको थियो । उनले पाएको म्याद हिजो सकिएको हो ।

म्याद सकिँदासम्म उनले प्लमको काम मात्र मुश्किलले सकेका छन् । कालोपत्रे गर्नुअघि ग्राभेलसम्म गर्न नसक्दा सडक पुरै हिलाम्मे भएको छ । मानिसहरु त्यस बाटोबाट हिड्न नसकी अन्यतिरबाट घुमेर अस्पताल जाने गरेका छन् । काममा निकै ढिलासुस्ती गरेपछि बिर्तामोड नगरपालिकाले ठेकेदार सिटौलालाई जेठ १० गते काम छिटो सक्न लिखित चेतावनी दिएको थियो ।तर, उनले टेरेनन्् । बिर्तामोड नगरपालिकाले जेठ १० गते लिखित चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने बताए । ‘ हामीले पटकपटक भन्दै आएका छौं तर, समयभित्र काम पूरा भएन ’उनले भने, ‘ निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै आएका छन् । ’

नगर अस्पतालजस्तो संवेदनशील ठाउँमा जाने बाटो अलपत्र पारेर छोड्नु गलत भएको बिर्तामोड नगर अस्पताल व्यवस्थापन समितिका सदस्य अर्जुन पाठकले बताए । उनले समयमा काम पूरा नगर्ने ठेकेदारलाई सबैले दवाव दिनुपर्ने बताए । यस विषयमा ठेकेदार सिटौलासंग बुझ्न खोज्दा उनको फोन उठेन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्