झापा , असार ७ । ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ ।

बाढीपहिरोका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो । गत शुक्रबार, शनिबार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजङ्गा गाउँपालिका-८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ । सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजङ्घा गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ । बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजङ्गा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए । सिरिजङ्घा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेको छ । बाढीपहिराका कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ ।

त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय रहेको छ । सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन् । तर अहिले बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको बेघाले बताए। बाढीपहिरोका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ । निरन्तर वर्षा र बाढीपहिराले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले यही असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका-६ मेहेले गाउँमा गत शनिबार राति गएको बाढीपहिराले बगाएको चार जनामध्ये एकै घर परिवारका तीनजना अझै बेपत्ता रहेका छन् । एकजनाको सोही दिन शव फेला परेको थियो । सोही गाउँमा आइतबार बिहान पहिराले तीनजना बगाएको थियो । एक घरका बाबु छोराको शव भेट्टिएको थियो भने एकजना नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर अहिले विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्