झापा , असार ७ । नेपालले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेलमा बिहीबार वेस्ट इन्डिजको सामना गर्दैछ ।

विश्वकप छनोट खेल जिम्बाबेको हरारे स्पोर्टस क्लबमा भइरहेको छ । नेपालले टस जिती पहिले वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको छ । वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता हो । नेपालले एकदिवसीय विश्वकप विजेता टोलीसँग इतिहासमै पहिलो पटक प्रतिस्पर्धा गर्दैछ । त्यसैले विश्वकप विजेता रहिसकेको टोलीविरुद्ध बलिङ गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्, ललित राजवंशी । नेपालले राजवंशीलाई वेस्ट इन्डिजविरुद्घको खेलमा ओपनर बलरको रुपमा प्रयोग गरेको हो । आफ्नो पहिलो ओभरमा ललितले केवल दुई रन दिए । उनको बलमा वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रेन्डन किंग र काइले मायर्सले एक-एक रन लिए । यसैगरी करण केसी भने विश्वकप विजेता रहिसकेको टोलीको विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । ललितपछि दोस्रो ओभर बलिङ गर्न आएका करणले क्यारेबियन टोलीका ओपनर ब्याट्सम्यान काइले मायर्सको विकेट लिए । करणले आफ्नो पहिलो ओभरको तेस्रो बलमै मायर्सको विकेट लिएका हुन् । त्यतिबेला वेस्ट इन्डिजले केवल दुई रन बनाएको थियो । मायर्स भने एक रन बनाएर आउट भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्