गौरादह,असार ७ । सम्बन्ध विच्छेदसम्बन्धी अदालतमा मुद्दा चलिरहेको अबस्थामा दोस्रो विवाह गर्ने एकजनालाई प्रहरीले गौरादहबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी- १९ तरहराका साजनकुमार चौधरी रहेका छन् । बेहुला चौधरीसंगै बेहुलाका बुबासमेत पक्राउ परेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
चौधरीलाई प्रहरीले बिहीबार विवाहपछि अन्माउने बेलामा पक्राउ गरेको हो । गौरादह-२ हिमाल चौककी एक युवतीसंग विवाह गरेका चौधरीलाई बेहुली अन्माउने समयमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

स्थानीयका अनुसार चौधरीकी पहिलो पत्नीले सम्बन्धविच्छेद गर्न २०७२ सालमै मुद्दा हालेकी थिईन् । मुद्दा विचाराधीन रहेको अवस्थामै चौधरीले छलेर विवाह गरेका हुन् । चौधरीले दोस्रो विवाह गरिरहेको थाहा पाएपछि उनकी पहिलो पत्नीले इटहरी प्रहरीमा उजुरी दिएकी थिइन् । इटहरी प्रहरीले त्यसबारे गौरादह प्रहरीलाई जानकारी गराएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । उनले आफूकहाँ उजुरी आइसकेपछि कानुनी कार्वाही अघि बढाउने जानकारी दिए । छलेर विवाह गर्ने चौधरी , उनका बुबा र जन्तीलाई दमक प्रहरीमा लगेर बुझाइएको र झुक्याइमा पर्ने पीडित युवतीलाई घरमै राखिएको गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशीले बताइन् । बेहुला पक्राउ परेपछि जन्तीको बिचल्ली भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्