झापा, असार ७ ।झापा गाउँपालिका- ३ का कृषक चन्द्रप्रसाद बस्नेत १ लाख नगदसहित राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित भएका छन् ।


युवा तथा खेलकुद मन्त्रालयद्वारा बिहीबार काठमाण्डौंमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण समारोह कार्यक्रममा कृषक बस्नेतलाई सम्मान गरिएको हो ।
व्यवसायिक केरा खेतीमार्फत कृषि क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशीलता, उद्यमशीलता र युवा पुस्तामा कृषिको सकारात्मक सोच प्रवाह गर्न सहयोग पुर्‍याएको भन्दै सरकारले उनलाई नगद १ लाखसहित सम्मान गरेको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू तथा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।


बस्नेतले लामो समयदेखि झापा गाउँपालिकामा व्यवसायिक केरा खेती गर्दै आएका छन् ।
त्यस्तै बस्नेतसहित सरकारले सुर्खेतका हिराबहादुर घर्तीलाई कृषि , कैलालीका हिरुलाल डंगौरा वातावरण संरक्षण , प्युठानका भावना भट्टलाई युवा सशक्तीकरण र नेतृत्व विकास, काठमाण्डौंका वि विल राइज फाउण्डेशनलाई पर्यटन प्रबद्र्धन र समाजसेवा, रुकुम पश्चिमका सृजना ओलीलाई पर्यटन प्रवद्र्धन , काठमाण्डौंका सौरभ रिमाललाई समाजसेवा, धादिङका दिवाकर अर्याललाई युवा सशक्तीकरण र नेतृत्व विकास, दाङका दिपेन्द्र नेपालीलाई बिज्ञान तथा प्रविधि, धादिङका डा. राम थापा क्षेत्रीलाई स्वास्थ्य क्षेत्रका लागि राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मान गरेको हो ।
त्यस्तै युवा पत्रकारिता पुरस्कारबाट सरकारले केशवबहादुर रोका, मेनुका ढुंगाना, प्रकाशबहादुर सिंह र बिनोद घिमिरेलाई सम्मान गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्