झापा , असार ८ । भारतीय फिल्मको प्रदर्शन जारी राख्न पाटन उच्च अदालतले बिहीवार जारी गरेको अन्तरिम आदेशसँगै हल सञ्चालकले आज शुक्रबार पुरानो फिल्म ‘जरा हट्के जरा बचके’ पुनः रिलिज गरेका छन् ।

आज शुक्रबार नयाँ हिन्दी फिल्म नआएपछि विक्की कौशल र सारा अली खानको अभिनय रहेको फिल्म रिलिज गरेका हुन् । फिल्मका लागि काठमाडौँमा अधिकांश हलले शो समेत प्रकाशित गरेका छन् । नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ । अदालतको आदेशपछि संघले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निणर्य गरेको हो । ‘हामीले आदिपुरुष रिलिज गरेका छैनौ’, चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले भने- ‘अदालतको आदेशपछि फिल्म प्रदर्शन रोक्नु पर्ने देखिन्न ।’ चलचित्र संघको आधिकारिक धारणा समेत विज्ञप्ति मार्फत छिट्टै आउने उदयले जानकारी दिए । हिन्दी फिल्म रोकिएको विषयमा पाटन उच्च अदालतले आगामी मंगलबार चलचित्र संघ र काठमाडौँ महानगर दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्