बिर्तामोड,असार ८ । देश र नागरिक जोगाउने भन्दै राष्ट्र ,राष्ट्रियता ,धर्म संस्कृति र नागरिक बचाउ महाअभियान संचालन गरिरहेका दुर्गा प्रसाईले आफूलाई कसैले पनि साथ नदिएको गुनासो गरेका छन् ।

राजनीतिक दलहरुबाट ख्यालख्यालमै राष्ट्र राष्ट्रियता नरहने , धर्मसंस्कृति र नागरिक नरहने देखेर आफूले संचालन गरिरहेको अभियानमा अपेक्षागरेअनुसारको सहयोग नपाएको उनको भनाई छ । मनकामना काली मन्दिर तथा सत्संग भवन समिति बिर्तामोड ९ र १० को दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनलाई उद्घाटन गर्दै बिएण्डसी हस्पिटल बिर्तामोडका संचालकसमेत रहेका प्रसाईले आफ्नै ठाउँमा सहयोग नपाएको दुःखेसो सुनाए ।‘मलाई पश्चिमी नेपाल ,साउदी अरब , दुबईमा धेरै मान्छन् ’उनले भने,‘तर आफ्नै ठाउँमा आफूसंग पढेको साथी , आफ्नो परिवार र छरछिमेकले मान्दैनन् । ’एकातिर लघुवित्त र सहकारीका कारण घरमै बस्न नसक्ने अबस्था देखिनु र अर्कोतिर दिनमा दश हजारका दरले विदेसिनेक्रम जारी रहनुले केही वर्षमा नेपालमा मानिस नै नरहने उनले चिन्ता व्यक्त गरे ।व्यापार व्यवसाय चौपट्ट भएको भन्दै उनले भने ,बिर्तामोडका १६ सय घर लिलाम हुँदैछ , बिर्तामोडको सिटी सेन्टरको ३ सयवटा सटरमध्ये २० वटा मात्र खुल्ला छ सबै बन्द भइसके ।’यस्तै समस्याबाट देश र जनतालाई बचाउन आफूले अभियान संचालन गरिरहेको बताउँदै प्रसाईले एकजुट भएर देश बचाउने अभियानमा सरिक हुन आग्रह गरे । मनकामना काली मन्दिर तथा सत्संग भवन समितिका अध्यक्ष ध्रुवप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्र ,राष्ट्रियता ,धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका सचिवालय सदस्यहरु नवराज पनेरु , रामचन्द्र मैनाली , किरात लिम्बुवान प्रदेश नामकरण अभियानका संयोजक प्रेमदीप थाम्सुहाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष शिवाकोटीले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा महासचिव हरिप्रसाद सिटौलाले ३८ लाख ७१ हजार ६६१ रुपैयाँको आम्दानी र ४३ लाख ७१ हजार ३४० रुपैयाँको खर्चको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन समितिका सदस्य मिलन आलेले गरेका थिए । यसैबीच अधिवेशनले पुनः ध्रुवप्रसाद शिवाकोटीको अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा प्रकाश सिटौला , उपाध्यक्ष युवराज पराजुली , महासचिव हरिप्रसाद सिटौला,सचिव मिलन आले , सहसचिव रामप्रसाद खनाल र कोषाध्यक्ष सुनिता निरौला बाँस्कोटा रहेका छन् । त्यस्तै सदस्यहरुमा टिकेन्द्रबहादुर थापा , रघुनाथ पाठक , अर्जुन तामाङ, नविन सेढाई , नैनकला थापा र गोमा संग्रौला रहेका छन् । त्यस्तै लक्ष्मीप्रसाद शिवाकोटी संयोजक तथा रामचन्द्र मैनाली र गौरीप्रसाद घिमिरे सदस्य रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्