भद्रपुर,असार ८ । भद्रपुर नगरपालिकाको असार ८ गतेका लागि बोलाइएको १२ औं बजेट अधिवेशन नगर सभाको गणपूरक संख्या नपुगेर स्थगित भएको छ ।

नगर सभामा प्रतिनिधित्व गर्ने नेकपा एमालेबाट निर्वाचित सभाषदको अनुपस्थितिका कारण कार्यपालिकाले निर्विरोध पारित गरेको नीति तथा कार्यक्रमसहितको बजेट अधिवेशन गणपूरक संख्या अभावमा स्थगित भएको हो ।

५४ सदस्य सभाषद रहेको नगरपालिकाले बोलाएको नगरसभामा गणपूरक संख्या २८ जना हुनु पर्नेमा २२ जनाको मात्र उपस्थिति रहेपछि बाह्रौं अधिवेशनको दोस्रो बैठक शनिवारलाई डाकिएको छ ।
प्रदेश सभा एवम् कोशी प्रदेशबाट जारी गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि अनुसार सभामा तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत उपस्थित नभएको हुँदा शुक्रवारको बैठक स्थगित गरी सोही नियमावलीको दफा १४ को (२)–अनुसार शनिवारलाई बैठक डाकेको नगरपालिकाले जनाएको छ ।
नियमावलीमा लगातार दुई पटक बैठक डाक्दा पनि गणपूरक संख्या नपुगेमा कम्तिमा एकतिहाई सदस्यहरूको उपस्थितिलाई गणपूरक संख्या मानेर तेस्रो बैठकले निर्णयहरू गर्न सकिने सुविधा दिएको छ। भद्रपुर नगरपालिकाको हकमा तत्काल कायम रहेको सदस्य संख्या ५४ हो र लगातारको बैठकमा आवश्यक गणपूरक संख्या नपुगेमा एकतिहाई अर्थात् १८ जना सदस्यको उपस्थितिमा निर्णय हुन सक्ने विधानतः व्यवस्था रहेको छ।
आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट, नीति तथा कार्यक्रम र प्रस्तावहरू छलफल गरी स्वीकृत गर्नका लागि अधिवेशन डाकिएको नगरप्रमुख गणेश पोखरेलले बताए।
१२ औं अधिवेशनको यो बैठकमा नेकपा.एमालेका सम्पूर्ण र राप्रपाका दुई जना बोर्ड सदस्य अनुपस्थित रहेका थिए । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाका सभाषदसहित २२ जनाको उपस्थिति रहेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।

नगर प्रशासन स्रोतका अनुसार बोर्ड बैठकमा छलफल भएर नगरसभामा लैजाने बजेट, नीति तथा कार्यक्रमलाई स्वीकृत प्रदान गर्ने सहमतिपछि अधिवेशन डाकिएको थियो ।तर, बैठक डाक्न हस्ताक्षर गर्ने जिम्मेवार प्रतिनिधि नै अधिवेशनमा उपस्थित नभएपछि आश्चर्य मानिएको छ ।
भद्रपुर ७ नं.वडा अध्यक्ष अभिषेक ढुङ्गानाले नगर शिक्षा समितिको समस्याबाहेक नगरभित्र अन्य असन्तुष्टि छ भन्ने आफूलाई नलागेको जानकारी दिएका छन् ।
अनुपस्थित रहने पक्षले भद्रपुर नगरपालिकाको शिक्षा समिति पुनर्संरचना गर्नुपर्ने एक सुत्रीय माग पूरा गराउन बैठक बहिस्कार गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्