भद्रपुर, असार ९ । भद्रपुरस्थित प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन निर्माण हुँदा समेत हस्तान्तरण प्रकृयामा लगिएको भन्दै नेकपा माओवादी केन्द्र भद्रपुरले आपत्ति जनाएको छ ।

केन्द्रले अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै सेवाग्राहीहरु स्वास्थ्य उपचार गर्न आउने भवन हचुवा र लापरवाहीले गुणस्तरहीन बनेको अवस्थामै अस्पताल विकास समितिले गुणस्तरीय भएको सहमति दिँदै जेठ २२ गते हस्तान्तरण गरेकोमा आपत्ति जनाएको हो ।

अस्पतालको नयाँ भवनको २०८० बैशाख ३१ गते अनुगमन गर्दा भवन कमसल बनेको, छतमा जताततै चर्किएको, फुटेको कारण पानी चुहिने अवस्था देखिएको जानकारी तत्कालीन प्रदेश स्वास्थ्यमन्त्री निर्मला लिम्बू, स्वास्थ्य सचिव डा. सुधा देवकोटा, संघीय सांसद निशा डाँगी र पूर्व प्रदेश सांसद बसन्त बानियासहित भद्रपुर नगर प्रमुख गणेश पोखरेललाई अनुगमन विवरण बुझाएको भएपनि सुनुवाइ नभएको माओवादी केन्द्र भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीले जानकारी दिए ।

अध्यक्ष राजभण्डारीले अस्पताल विकास समितिका अध्यक्ष, सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका प्रमुख र सम्वन्धित प्राविधिकहरूको लापरवाहीको फाइदा लिँदै ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै कारवाहीको माग समेत गरेका छन् । उनले दक्ष र विश्वासिला प्राविधिक ल्याएर भवन पुनरनिर्माण हुनु पर्ने समेत माग गरेका छन् ।

असारको पहिलो सातामा आएको वर्षे झरीको पानी रसाएर भवनभित्र चुहिएको अवस्था छ । निर्माणाधीन आइसियु कक्षमै छतबाट पानी चुहेको देखिन्छ । छानाको फाइवर कमसल भएको र तीनवटा सेक्सनको छानाको जडानबाट पानी चुहिएको अवस्थाले भवन ज्यादै कमसल भएको राजभण्डारीको भनाइ छ ।
२०८० जेठ २२ गते बसेको अस्पताल विकास समितिको बैठकमा हस्तान्तरण प्रक्रियाका विषयमा छलफल भएको जनाउँदै विज्ञप्तिमा अस्पतालको झ्याल ढोकाको सामग्री कमसल भएको, शौचालयमा धेरै समस्या देखिएको लगायतका विषय उठान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्