झापा,असार ११ । रोकिएको नागरिकता वितरण कार्य झापामा पनि हिजोबाट शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गर्न थालेको हो । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणित नागरिकता बिधेयकलाई सर्वोच्च अदालतले हालै सदर गरेपछि अन्य जिल्लासंगै झापामा पनि आइतवारबाट नागरिकता वितरण हुन थालेको हो ।

हिजो आइतवार जन्मसिद्धका सन्तानलाई ४५ वटा नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । सर्वोच्च अदालतले रोक्नुअगाडि परेका निवेदनहरुमाथि छानविन गरी हिजो उनीहरुलाई नागरिकता वितरण गरिएको उनले जानकारी दिए । सर्वोच्चले सदर गरेको भोलिपल्ट हिजो जिल्ला प्रशासन कार्यालय झापामा हजारभन्दा बढीले निवेदन बुझाएका छन् । असार २८ गतेसम्मको लागि निवेदन प्याक भइसकेको प्रजिअ पोखरेलले बताए ।उनले दुईवटा स्टेशनबाट दिनको १२० वटासम्म नागरिकता वितरण गर्ने अबस्था रहेकोमा त्यस गतिलाई बढाउन तीनवटा स्टेशन राख्न लागिएको जानकारी दिए ।‘ दुई ठाउँबाट नागरिकता वितरण गर्न थालेका छौं’ उनले भने,‘ नागरिकता लिनेको चापलाई हेरेर अर्को एक ठाउँ पनि थप्दैछौं ।’

झापामा करिव २६ हजार ५ सयले जन्मसिद्ध नागरिकता लिएको देखिन्छ । उनीहरुका सन्तान ५२ हजारभन्दा बढी हुनसक्ने भएकाले सबैलाई नागरिकता वितरण गर्न दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको प्रजिअ पोखरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्