बिर्तामोड , असार ११ । अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको अवसरमा बिर्तामोडमा बृहत सचेतनामूलक र्याली निकालिएको छ ।

बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त आयोजनामा सन्देशमूलक प्रभातफेरी आयोजना गरिएको हो । बिर्तामोडको मुक्तिचौकबाट शुरु भएको र्याली सिटी सेन्टर पुगेर पुनः मुक्तिचौकमै आइपुगेर समापन भएको छ । र्यालीमा बिर्तामोड उद्योग वाणिज्य संघ , जिल्ला ट्राफिक प्रहरी कार्यालय , वीरता जेसीज , वीरता लेडी जेसीज , एबीसी नेपाल , सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र , आदर्श सामुदायिक प्रहरी सेवाकेन्द्र , बिर्ता सामुदायिक प्रहरी सेवाकेन्द्र , महेन्द्र रत्न मावि , दुर्गा मावि , न्यूटन्स एजुकेशन एकाडेमी ,गोमेन्द्र कलेज , एमिटी कलेज , सशस्त्र प्रहरी , विभिन्न सुधार केन्द्रका प्रतिनिधि , विद्यार्थी ,प्रहरी, स्काउट, शिक्षक, व्यापारी, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

र्यालीमा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , वडाध्यक्षहरु ,इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्की , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी ,वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीलगायतको उपस्थिति रहेको थियो ।

लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा विगत १४ महिनामा करिव दुई किलोग्राम ब्राउनसुगर बरामद भएको छ ।
२०७९ बैशाखदेखि २०८० जेठ मसान्तसम्मको अवधिमा भारतबाट नेपाल भित्र्याउन लागेको अबस्थामा १८८६ ग्राम ७७३ मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रतिबन्धित लागूऔषधमा सबैभन्दा बढी ब्राउनसुगरको कारोबार भइरहेको पाइएको छ । त्यसपछि गाँजा रहेको छ । प्रहरीले सो अवधिमा ३५ केजी ५५० ग्राम गाँजा बरामद गरेको छ । त्यस्तै लुपिजेसिक १८९ एम्पुल , डाइजापाम २०४ एम्पुल ,फेनारगन २०१ एम्पुल , नाइट्रोसन ११० चक्की , नाइट्राजेपाम १७८ चक्की , एभिल ६ एम्पुल बरामद भएको छ ।

लागूऔषधको कारोबारमा संलग्न ३८० जना सो अवधिमा पक्राउ परेको डीएसपी खगेन्द्र रिजालले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा ३४ महिला र ३४६ जना पुरुष रहेका छन् । नेपाली नागरिक ३२ महिला र ३२८ पुरुष तथा भारतीय नागरिक २ महिला र १८ पुरुष पक्राउ परेको रिजालले जानकारी दिए । त्यस अवधिमा लागूऔषधमा संलग्न २३२ जनामाथि मुद्धा दर्ता गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्