झापा, असार ११ । झापाको हल्दिबारीमा विषालु सर्पको डसाइबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका– २ पाराखोपी निवासी अन्दाजी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार आइतबार मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि राजवंशीले सर्पलाई समातेर घाटीमा बेर्न खोजेका थिए । सोही क्रममा सर्पले उनको दुवै हातमा डसेको थियो । सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चारआली लैजाने क्रममा बाटैमा मृत्यु भएको डीएसपी रिजालले बताए ।

‘अत्यधिक मदिरा सेवन गरेका कारण उनले सर्प समातेर घाटीमा बेर्न खोज्दा घटना घटेको हो,’ डीएसपी रिजालले भने । कानुनी प्रक्रिया पूरा गरी शवलाई प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्