झापा, असार ११ । पूर्वी नेपालमा पहिलोपटक स्वास्थ्य पर्यटन प्रवर्द्धन कार्यक्रम हुने भएको छ ।

नेपाल टुरिजम बोर्डको आयोजना, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा कोशी प्रदेश) र झापा जिल्ला होटेल ब्यबसायी संघको सह-आयोजना तथा बिर्तामोड नगरपालिकाको सहकार्यमा यही असार १६ गते बिर्तामोडमा सो कार्यक्रम हुन लागेको हो ।

बिर्तामोडको आदर्श ब्याङ्केटमा बिहान १० देखि बेलुका ६ बजेसम्म सो कार्यक्रम गर्न लागिएको आयोजकले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । हेल्थ टुरिजम प्रोमोसन प्रोग्रामले स्वास्थ्य सेवा प्रदायक, विरामी र पर्यटन उद्योगलगायत विभिन्न सरोकारवालाहरूलाई धेरै फाइदाहरू पुग्न सक्ने आयोजकले विश्वास लिएको छ । हेल्थ टुरिजम प्रोमोसन प्रोग्रामले स्वास्थ्य सेवा प्रदायकहरू, चिकित्सा पर्यटन सहजकर्ताहरू, उद्योग विशेषज्ञहरू, पर्यटन ब्यबसायीहरुलाई एउटै छानामुनि ल्याउने र यसले नेटवर्किङ, सहयोग र सम्बन्ध निर्माणको लागि प्लेटफर्म प्रदान गर्ने नाट्टा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले बताए । त्यस्तै यो कार्यक्रमले यस क्षेत्रका स्वास्थ्य सेवा प्रदायकहरूलाई उनीहरूको चिकित्सा सेवा, सुविधाहरू र विशेषज्ञता पर्यटन ब्यबसायीहरुलाई देखाउन अवसर मिल्ने उनले बताए । यो एक्सपोजरले विशिष्ट चिकित्सा उपचार खोजिरहेका आफ्नै देश र भारतका सम्भावित बिरामीहरूलाई आकर्षित गर्न मद्दत पुग्ने उनको भनाई छ ।

त्यस्तै हेल्थ टुरिजम प्रोमोसन प्रोग्रामले सम्भावित बिरामीहरूलाई नेपालमा उपलब्ध स्वास्थ्य सेवाहरूको बारेमा जानकारी दिन अवसर प्रदान गर्ने नाट्टाका महासचिव नविन खरेलले बताए । कार्यक्रममा हुने प्रस्तुतीकरण, सेमिनार र अन्तरक्रियात्मक सत्रहरूमार्फत बिरामीहरूले चिकित्सा हेरचाहको गुणस्तर, उपचार विकल्पहरू र नेपाली स्वास्थ्य सेवा पेशेवरहरूको विशेषज्ञताको बारेमा जान्न सक्ने उनले जानकारी दिए ।

चिकित्सा पर्यटन सहजकर्ताहरू, ट्राभल एजेन्सीहरू र पर्यटन उद्योगका अन्य सरोकारवालाहरूका लागि यो कार्यक्रमले व्यापार अवसरहरू विकास गर्न र साझेदारी गठन गर्न प्लेटफर्मको रूपमा काम गर्न सक्ने महासचिव खरेलको भनाई छ।

बिशेषगरी झापा जिल्लामा रहेका हस्पिटल, कोशी प्रदेशका ट्राभल, होटेल, होमस्टे र अन्य पर्यटन ब्यबसायीहरुले आ-आफ्नो ब्यबसाय प्रवर्द्धनका सामग्रीसहित स्टल राखेर सहभागिता जनाउने भएका छन् । साथै पश्चिम बंगाल र बिहारका ४० जना पर्यटन ब्यबसायी र पत्रकारहरुको सहभागिता रहने खरेलले जानकारी दिए ।कार्यक्रममा ५० वटा स्टल रहने जनाइएको छ ।

अहिलेसम्म १२ वटा हस्पिटल , ८ वटा होटल , ६ वटा आँखा अस्पताल, ५ वटा दाँतको क्लिनिक , एक-एक वटा टुरिजम र हेल्थ कलेजले कार्यक्रममा सहभागिता जनाउने निश्चित भइसकेको महासचिव खरेलले बताए । कार्यक्रममा पर्यटन कार्यालयका सूचना अधिकृत निरज कट्टेल , होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले पनि कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्