झापा , असार १२ । भोजपुरको पौवादुङ गाउँपालिकामा जन्मिने शिशुले पाँच वर्षसम्म प्रत्येक महिना ५०० रुपैयाँ पाउने भएका छन् ।

आ.व २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम मार्फत गाउँपालिकाले पहिलो पटक ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ लागु गरेको हो । यो कार्यक्रम अन्तर्गत यहाँ भित्र जन्म र रेफर भएका बालबालिकाको भविष्य सुरक्षाको लागि प्रत्येक महिना पाँच सयका दरले पाँच वर्षसम्म गाउँपालिकाले भत्ता वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । ‘बालबालिकाको भविष्य सुरक्षाको लागि यो कार्यक्रम सञ्चालनमा ल्याएका छौँ’ प्रशासकीय भट्टराईले भने, ‘पाँच वर्षसम्म बैकिङ प्रणाली मार्फत प्रोत्साहन रकम दिन्छौँ । नवजात शिशु विद्यालय जाने उमेरसम्म खातामा जम्मा भएको रकमले पठनपाठनसँगै भविष्य सुरक्षामा टेवा पुग्छ भन्ने हाम्रो उद्देश्य हो ।’ बालबालिकाको स्वास्थ्यसँगै उनीहरूको भविष्यको लागि लगानी गर्न सके त्यसबाट दक्ष जनशक्ति उत्पादन गर्न सकिने गाउँपालिका अध्यक्ष किरण राईले बताए । बालबालिकालाई गर्भमा रहेदेखि उसको उज्वल भविष्यको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालनमा ल्याएको अध्यक्ष राईको भनाइ छ ।

राज्यले जेष्ठ, एकल महिला, असक्त, असाहय नागरिकलाई सामाजिक सुरक्षा भक्ता दिएपनि नवजात शिशुको लागि भने पौवादुङमा गाउँपालिकाले पहिलो पटक प्रोत्साहनको कार्यक्रम शुरु गरेको अध्यक्ष राईले बताए । ‘आर्थिक अभावका कारण अब बालबालिका स्वास्थ्य र शिक्षाबाट बञ्चित नहुन् भन्ने हाम्रो मुख्य लक्ष्य छ’ अध्यक्ष राईले भने,‘गाउँपालिकाले प्रदान गर्ने रकमले उनीहरुको उज्वल भविष्य निर्माणमा टेवा पुग्छ । पाँच वर्षसम्म जम्मा भएको रकमलाई मुद्दती खातामा राखेर उनीहरूको उज्वल भविष्य निर्माणमा लगानी हुनेछ । ’ गाउँपालिकाले विगतका वर्षबाट नै स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष राईले बताइन्। गाउँपालिकाले बर्थिङ सेन्टरबाट रेफर गरिएका गर्भवती, सुत्केरी नवजात शिशुलाई निःशुल्क एम्वुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले महिला तथा नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै विगतका दिनको रातो भाले कार्यक्रमलाई निरन्तरता दिँदै ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम अन्तर्गत गर्भवतीलाई पोथी वितरण कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन् । गाउँपालिकामा रहेका पाँच बर्थिङ सेन्टरलाई थप व्यवस्थित गर्दै नर्सिङ कर्मचारीलाई रात्रिकालीन भत्ताको व्यावस्था गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्