झापा, असार १३ । दक्षिणी झापाको कचनकवलमा कृषकहरूका लागि आएको रासायनिक मलको दुरुपयोग हुने गरेको पाइएको छ ।

आफ्नो कार्यक्षेत्रमा बिक्री वितरणको डिलरसीप लिएका कृषि सहकारीहरूले नै सहुलियतको मल दुरुपयोग गर्दै आइरहेको भेटिएको छ । कुनै पनि सहकारीले आफ्नो कार्यक्षेत्र र सदस्यहरूलाई बाहेक अरूलाई मल बिक्री गर्न नपाउने नियम छ । तर, कचनकवल ६ स्थित बनियानी कृषि सहकारी संस्थाले नियमविपरीत सहुलियत मल कालोबजारी गर्ने गरेको फेला परेको छ । मल कालोबजारी गर्नेमा सहकारी पदाधिकारीहरूको समेत संलग्नता छ । कचनकवलमा माग अनुसार थोरै मात्र सहुलियतको मल आपूर्ति हुने र त्यसमा पनि सहकारीकै हालीमुहाली हुने गरेपछि कचनकवलका अधिकांश कृषकहरुले सहुलियतको मल पाउनबाट वञ्चित हुनु परेको छ । ।

सहकारीले कृषकलाई मल दिँदैन, तोकिए भन्दा बढी पैसा दिने व्यापारीलाई बेच्ने गरेको त्यहाँका अधिकांश कृषकहरूको आरोप छ । बनियानी कृषि सहकारीको कार्यालयले उत्तरतर्फ दिलबहादुर कार्कीको गोदामघर भाडामा लिएको छ । प्रधानमन्त्री धान सुपरजोनको कार्यालयनजिकै रहेको सहकारीको सो गोदामबाट ४०० मिटर पश्चिम बनियानी बजारको बराल एग्रोलाई बिक्री वितरण गरेको प्रमाण भेटिएको छ । बुधवार बिहानै एग्रोले सहकारीको गोदामबाट मल खरिद गरी एउटा सिटी सफारीमा हालेर ल्याएको मल आफ्नो पसलमा अनलोड गर्दै गरेको तस्बिर फेला परेको छ । यस्तो गैरकानुनी कारोबार गर्दै आएका सहकारीलाई स्थानीय तहले सिफारिस दिनुपर्ने भित्री कारण कमिसनको खेल हुनुपर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्