झापा, असार १४ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिदिन सूचित गराएका छन् । सचिव पराजुलीका अनुसार बिहीबार सुरु हुने प्रदेशसभाको तेस्रो अधिवेशनको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, बजेटसबन्धी अध्यादेश पेस गर्ने, मुख्यमन्त्री कार्कीले विश्वासका मतका लागि प्रस्ताव राख्नेलगायत छन् । बिहीबार बिहान ११ बजे बोलाइएको कार्य व्यवस्था परामर्श समितिले बैठकको कार्यसूचीको अन्तिम टुंगो लगाउनेछ ।

एमालेबाट निर्वाचित मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने समीकरण प्रदेशसभामा छैन । ९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ जनाको मात्रै उनलाई समर्थन छ । प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ जना छन् । मुख्यमन्त्री कार्कीले ४७ सांसदको समर्थन जुटाएर प्रदेशसभाको बैठकमा विश्वासको मत लिने अवस्थामा सभामुख अनुपस्थित भइदिए उपसभामुखले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा बराबर मत भएपछि मात्रै बैठकको अध्यक्षता गर्नेले निर्णायक मत दिन पाउँछन् तर सभामुखसहित थप एक प्रदेश सांसद अनुपस्थित भएको अवस्थामा प्रतिपक्षमा ४५ मत मात्रै हुन जाने भएकाले मत बराबर नहुन सक्छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि प्रतिपक्षी दलसँग विश्वासको मत माग्ने निर्णय गरेको छ।
बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले संसदको फेस गर्ने र सबै दलसँग विश्वासको मत माग्ने निर्णय गरेको हो।
प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने दाबी गर्दै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिन सबै दललाई आग्रह गर्ने निर्णय पनि गरेको छ।’

यता, नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलको बैठकले वर्तमान सरकारको विपक्षमा उभिने निर्णय गरेको छ।
बुधबार इटहरीमा पार्टीका नेतासहित बसेको दलको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको दलको नेतासमेत रहेका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्