बिर्तामोड,असार १४ । आयात–निर्यात व्यापारमा संलग्न उद्योगी–व्यवसायीहरुका लागि झापामा दुईदिने व्यापार व्यापार सहजीकरणसम्बन्धी दुईदिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजना एवम् झापा उद्योग वाणिज्य संघको सहकार्यमा झापाको बिर्तामोडमा बिहीवारदेखि तालिम सञ्चालन भएको हो ।
झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खड्कबहादुर लिम्बूको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् महासंघको मेला समितिका सभापति उमेश डालमियाले तालिमको उद्घाटन गरेका थिए ।

झापा उद्योग वाणिज्य संघका महासचिव सुमन्त मैनालीले सञ्चालन तथा नेपाल अलैंची व्यवसायी महासंघका महासचिव नारायण चिमरियाले स्वागत गरेको उद्घाटन सत्रपछि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले आयात–निर्यात व्यवसायका लागि जान्नैपर्ने विभिन्न प्रक्रियाहरुका बारे प्रस्तुति दिएका थिए ।

झापाका आयात–निर्यात व्यवसाय एवम् उद्योग–वाणिज्य संघ तथा वस्तुगत संघहरुका पदाधिकारीसमेत २५ जनाको सहभागिता रहेको तालिममा व्यवसायीहरुले प्रविधिको प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी गराइएको थियो । तालिम शुक्रबार पनि सञ्चालन हुनेछ ।
तालिममा सहभागीहरुले सरकारको नीति, कानून र स्थानीय सरकारी निकायहरुको व्यवहारबीच तादम्यता नमिल्दा व्यवसायीहरुले अनावश्यक झञ्झट व्यहोर्नु परिरहेको गुनासो गरेका थिए । यस्ता अभिमुखीकरण कार्यक्रममा बहुसरोकारवाला निकायहरुको सहभागिता रहनुपर्ने सहभागीहरुको सुझाव थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्