झापा, असार १४ । नेपाल सरकारले खानी तथा क्रसर उद्योगको नवीकरणमा रोक लगाएपछि व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै क्रसर व्यवसायीहरूले उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।सरकार परिवर्तन भएसँगै क्रसर उद्योगका मापदण्ड पनि परिवर्तन हुँदै जाने परिपाटीले लगानी डुब्ने खतरा भएको उनीहरूको भनाई छ । आयकरलगायत अन्य कर लिएको सरकारले नवीकरणमा भने समस्या सृजना गरेको उद्योगी व्यवसायीको आरोप छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले दर्ता भई सञ्चालनमा भएका तर मापदण्डलगायत कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा कर र दस्तुर लिएर २०८० असार मसान्तसम्म यथावत् सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । तर हालसम्म सरकारले मातहतका निकायमा कुनै निर्देशन दिएको छैन ।

असार १८ गतेसम्म नवीकरण गर्न मातहतका निकायहरूलाई लिखित निर्देशन नदिए आन्दोलन गर्ने क्रसर कोशी तथा मेची व्यवसायी संघले जनाएको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पनि सरकारलाई खबरदारी गरेको छ ।लामो समयदेखि दबाब दिँदै आएको महासंघले प्रदेशस्तरीय दबाब कार्यक्रम बढाएको हो ।

महासंघका केन्द्रीय उपाध्यक्ष देवराज तामाङले आन्दोलनको विकल्प नभएको बताए । अरबौँ लगानी गरेर खोलिएका उद्योगीलाई सरकारले तस्करको व्यवहार गरेको उनको गुनासो छ ।
वातावरण प्रभाव मूल्यांकन गरेर खोलिएका र सञ्चालन भएका उद्योगलाई बन्द गराउने गरी सरकारले ल्याएको नीतिले लगानीको वातावरण खलबलिएको उनको धारणा छ । सरकार यही अवस्थामा अगाडी बढे उद्योग बन्द गरेर हड्तालमा उत्रिने उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्