झापा , असार १५ । सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे १३ अर्बको धान तथा चामल आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि जेठ मसान्तसम्म ३३ अर्ब ६३ करोड ४७ लाख ९२ हजार रूपैयाँको धान तथा चामल आयात भएको हो । किसानलाई उन्नत जातको धानको बिउ , आवश्यक परेका बेला रासायनिक मल , सिँचाइ सुविधा , धान रोप्न मेसिन औजार आदिको व्यवस्था गर्न नसक्दा धान उत्पादन वृद्धि हुन सकेको छैन । धानको उत्पादन र उत्पादकत्व घट्टा र उपभोग बढ्दा नेपालले चामलमा विदेशको भर पर्नुपरेको हो । धानको उत्पादन बढाउन नसक्दा चामल आयात भइरहेको पूर्वकृषि सचिव योगेन्द्रबहादुर कार्कीले बताए । ’ धान उत्पादन बढाउन किसानलाई आवश्यक बिउ , सिँचाइदेखि रासायनिक मलको उपलब्धता सहज हुन सकेको छैन , ’ सचिव कार्कीले भने , ’आयात प्रतिस्थापन गर्न धानको उत्पादन र उत्पादकत्व बढाउनुपर्छ ।’ सरकारले शुक्रबार ’जलवायु अनुकूलित कृषकमैत्री प्रविधि , धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०औं धान दिवस मनाउँदैछ । हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस मनाउँदै आएपछि मुलुक चामलमा परनिर्भर छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्