झापा, असार १५ । कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार गठन भएको १७४ दिनमा ढलेको छ ।

प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुगेको छ । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । ९३ जना सांसद रहेको प्रदेशसभामा बहुमत पुर्याउनका लागि ४७ सांसद आवश्यक पर्दथ्यो । मत विभाजनमा ८९ जना सांसद उपस्थित भए । मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का ४३ सांसद उभिएका छन् । काँग्रेस, माओवादी र जसपाको गरी तीन जना सांसद भने अनुपस्थित रहेका थिए ।

कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदको प्रतिनिधित्व छ । कार्की नेतृत्वको सरकार ढलेसँग अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । संविधानको धारा १६८ को (२) अन्तर्गत कार्की नेतृत्वको सरकार गठन भएको थियो । उनको सरकार ढलेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले पुनः सोही धाराअन्तर्गत सरकार गठनको आव्हान गर्ने सम्भावना छ । २०७९ पुस २४ गते नियुक्त भएका मुख्यमन्त्री कार्कीले पुस २५ गते सपथ लिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्