झापा, असार १५ । कोशी प्रदेशमा पाँचदलीय गठबन्धन दलका नेताहरुले बहुमतको सरकार बनाउने दाबी गरेका छन् ।

आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त नगरेपछि एमाले नेतृत्वको सरकार ढलेको छ । सोही क्रममा गठबन्धन दलका नेताहरुले प्रतिक्रिया दिँदै बहुमतको सरकार बनाउने दाबी गरेका हुन् ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुखले नयाँ सरकारको निम्ति आह्वान गरेपछि गठबन्धनको तर्फबाट बहुमतसहित मुख्यमन्त्रीको सरकारको दाबी गर्ने बताएका छन् । गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उनले गठबन्धन दल छलफलमा रहेको जानकारी दिए ।
उनले भने,‘एउटा प्रक्रिया भर्खरै पुरा भएको छ, मुख्यमन्त्री ज्यूले विश्वासको मत पाउनु भएन , अब नयाँ सरकारको गठन भर्खरै प्रारम्भ हुँदैछ ।’ स्वाभाविकरुपमा सबै दलको दाबी रहेको बताउँदै उनले गठबन्धनमा सहमति कायम गरेर सरकारको दाबी प्रस्तुत गर्ने तयारी रहेको जानकारी दिए ।

नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापाले गठबन्धन दलबाट जसले नेतृत्व गरेपनि यही दलले बहुमत प्राप्त गर्ने दावी गरे । उनले मध्यावधिमा जाने दलहरुको चाहना नरहेको बताउँदै गठबन्धन दलले बहुमत प्राप्त गरेर सरकारलाई निरन्तरता दिने दावी गरे ।
‘मलाई विश्वास छ, ४७ बनाउने कुरामा संख्या त हामीसँग ९३ जना हुनुहन्छ अहिले हामीसँग ४६ जना हुनुुहुन्छ बाँकी रहेको संख्याबाट हामी संलग्न गराउने कोसिसमा छौँ,’ उनले भने,‘ राप्रपा समेत नयाँ सरकारमा आउने सम्भावना छ ।’

सहमतिको सरकार बन्ने पनि कुरा छ नि ? भन्ने प्रश्नमा उनले भने,‘ त्यो पनि कुरा भइराखेको छ, त्यो पनि हुन्न भन्ने छैन प्रदेशको अवस्था हेरेर आर्थिक, सामाजिक र राजनीतिक कुरालाई हेर्ने हो भने हामीले सहमतिको सरकार बनाउन सक्ने अवस्था छैन भन्न सकिन्न । ’
यद्यपि गठबन्धन दलभित्रैबाट बहुमत पुर्याएर सरकार चलाउने कोशिस गर्ने उनले जिकिर गरे ।
नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको प्रष्ट पारे । केन्द्रमा त्यही खालको समझदारी भए जुनसुकै जिम्मा लिनुपर्ने बताउँदै उनले भने,‘ व्यक्तिगतरुपमा मेरो मुख्यमन्त्रीमा प्रयास वा दावी छैन । ’

अनौपचारिक रुपमा सहमति भए पनि केन्द्रले टुंगो लगाएपछि कसको नेतृत्वमा सरकार बन्ने भन्ने प्रष्ट हुने बताए । आफूले दाबी नगरेपछि नयाँ बन्ने सरकारलाई आफ्नो सहमति रहेको उनले बताए । यता राप्रपाका सांसद अम्बरबहादुर विष्टले अहिले नै सरकारमा जाने निर्णय नभएको बताए । उनले केन्द्रबाट जे निर्णय आउँछ त्यही हुने बताए । ‘अहिले नै सरकारमा जाने कुरा हुँदैन,’ उनले भने,‘केन्द्रबाट जे आउँछ त्यही अनुसार हुन्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्