झापा , असार १७ । झापामा डेंगी रोगको संक्रमण बढ्न थालेको छ ।

गर्मी र वर्षा मौसममा झापामा डेंगी रोगको संक्रमण बढ्दै गएको हो । करिव एक महिनामा बिर्तामोडमा ६ जनामा डेंगी रोगको संक्रमण देखिएको बिर्तामोड नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले बताए । केही दिनअघि एक महिलाले एड्भान्स ल्यावमा परीक्षण गराउँदा डेंगी पुष्टि भएको उनले बताए । स्वास्थ्य कार्यालय झापाका अनुसार जेठ महिनामा जिल्लाका ३८ जनामा डेंगी संक्रमण देखिएको छ । त्यस्तै बैशाखमा ५१ , चैतमा ४० , फागुनमा ४३ , माघमा २६ , पुषमा ३४ , मंसिरमा ४४ , कात्तिकमा १३० , असोजमा १३४ , भदौमा १०७ जनामा संक्रमण पुष्टि भएको थियो ।

डेंगी संक्रमणबाट गत असोजमा दुईजनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत भद्रपुर ७ सरस्वती टोल निवासी ५७ वर्षिय शशिकुमार भट्टराईको डेंगी संक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै बिर्तामोड – ३ निवासी एक महिलाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । काठमाडौंको सरस्वती क्याम्पसको लाइब्रेरी शाखामा कार्यरत ५२ वर्षीया निशा छेत्रीको डेंगीबाट मृत्यु भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाभित्रका स्वास्थ्य संस्थामा  परीक्षण भएका वा उपचार भएकाको मात्र विवरण आउने तर ,अन्यत्र गएर परीक्षण गराएकाको विवरण झापामा नहुने स्वास्थ्य कार्यालय झापाका बरिष्ठ तथ्यांक अधिकृत चुडामणि लुइटेलले बताए ।

कोशी प्रदेशमा नै डेंगी रोगको संक्रमण फैलन थालेको हो । चार वर्ष पहिले महामारीको रुपमा फैलिएको डेंगी रोगको संक्रमण पुनः फैलिन थालेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालय स्रोतका अनुसार कोशी प्रदेशका सुनसरी र संखुवासभामा सबैभन्दा बढी बिरामी फेला परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्