झापा , असार १७ । ग्यासको अभाव भएपछि सदरमुकाम फुङलिङको होटल सेन्ट्रलले आफ्ना सेवा बन्द गरेको छ ।

खाजा, खाना र लज समेत भएको होटलले दुई दिनयता परिकार बनाउन बन्द गरेको जनाएको छ । दैनिक आउने ग्राहकलाई ग्यास नआएसम्मका लागि ’सरी’ भनेर फर्काउन थालेको छ । पुरानो बैंक लाइनमा रहेको यो होटलमा दैनिक सैयौंको संख्यामा ग्राहक आउने गरेका थिए । वीरेन्द्रचोकमै रहेको ताप्लेजुङ किचन पनि बन्द हुने अवस्थामा पुगेको सञ्चालक बताउँछन् । होटल व्यवसायी संघका अध्यक्ष दिनेश खवासका अनुसार सेन्ट्रल जस्तै सदरमुकामका धेरैजसो होटलले सेवा प्रवाह बन्द गर्न थालेका छन् । ‘मलाई आज बिहान चार/पाँचजनाले ग्यासको व्यवस्था मिलाइदिन भन्नुभयो,’ खवासले भने, ‘अबचाहिँ हरेक पसलमा ग्यास सकिएकोले कुनै उपाय देखिएन ।’ पहिला दाउराको प्रचलन गर्ने सदरमुकाममा झन्डै एक दशकयता दाउराको प्रयोग पूणर्रुपमा बन्द गरेर ग्यासको प्रयोग हुन थालेको छ ।

पाँचथरको हेवा खोलाको पुल बाढीले बगाएपछि ताप्लेजुङमा समस्या भएको छ । असार ३ गतेको बाढीले बगाएको मेची राजमार्ग अन्तर्गतको मोटरेबल पुल अझै बनाइएको छैन । ह्युमपाइप लगाएर एक दिन डाइभर्सनमार्फत केही घन्टा यातायात खुले पनि नियमित नभएका कारण सामान आयात निर्यात हुन सकेको छैन । जिल्लामा ग्यास, डिजेल लगायतका वस्तुको समस्या जटिल छ । निर्माणका काम सकेर असार २४ गतेसम्ममा भुत्तानी लिनुपर्ने भएपनि डिजेल नभएकाले कतिपय निर्माणका काम प्रभावित भएका छन् । आशिका आयल सप्लायर्सका सञ्चालक तारा बराल एक दिन खुलेको समयमा दुई वटा ट्यांकरमा १२ हजार लिटर तेल भित्र्याए पनि अपर्याप्त भएको बताउँछन् । ‘डिजेल र पेट्रोल मिलाएर ल्यायौं,’ उनले भने, ‘पेट्रोलचाहिँ अब असारभरिलाई पुग्छ, डिजेलचाँहि माग धेरै छ ।’ अझै तीन ट्यांकर ल्याउन सकेमात्रै असार मसान्तसम्मको माग धान्ने उनले बताए । उद्योग वाणिज्य संघका अध्यक्ष नारान थापा सिलिन्डर ग्यस, तेल, चिनी लगायतका वस्तुको अभाव भइसकेको बताउँछन् । ‘यो विपत्को बेला कसैले नलुकाओस्, मूल्य नबढाओस् भनेर लगातार अनुगमन गरिरहेका छौं,’ थापाले भने, ‘तर सामानहरु एकपछि अर्को सकिँदै गएका छन् ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्