झापा, असार १७ । दक्षिणी झापाको कचनकवलका माछापालक किसानहरू आन्दोलित हुँदै गाउँपालिकाको कृषि विकास शाखामा आइतबार तालाबन्दी गरेका छन् ।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा ठगी गरेको भन्दै पीडित बनेका माछापालक किसानहरूले गाउँपालिका घेराउ गरी नाराबाजी गर्दै कृषि विकास शाखामा ताला लगाएका हुन् ।

एउटा प्याकेटमा एक हजार माछाको भुरा भनेर गाउँपालिकाले पाँच सय वटा मात्र दिएर आफूहरूमाथि ठगी गरेको किसानहरूले आरोप लगाएका छन् । गाउँपालिकाको कार्यालयबाटै आफूहरू ठगिएको हुँदा यस कार्यालयबाट ठगी गर्ने जिम्मेवार कर्मचारीउपर छानबिन गरी दोषी कर्मचारीलाई हदैसम्म कारबाही गरी माछापालक किसानहरूलाई उचित क्षतिपूर्तिसमेत दिलाउन माग राखेका छन् ।
चार हजार भुराको लागि ६ हजार रुपैयाँ गाउँपालिका कार्यालयमा बुझाएका भवेश राजवंशीले दुई हजारको मात्र भुरा पाएका छन् । गाउँपालिकाले चार हजार भुरा दिएर पठाएको थियो । ‘घर गएर भुरा गन्ती गर्दा दुई हजार मात्र थियो,’ उनले भने, ‘अरू किसानहरू पनि त्यसरी नै ठगिएका छन्, यस घटनाको छानबिन हुनुपर्छ ।’
५ पैसा पनि नपर्ने भुरालाई साढे ३ रुपैयाँको हो भनेर किसानलाई वितरण गरिएको बताउँदै कर्णसिंह राजवंशीले भने, ‘किसानहरू त्यसैको बारेमा गाउँपालिकासँग छलफल गर्न जाँदा एक हजार भुरा त कम भएको छ भनी गैरजिम्मेवार जवाफ पायौँ ।’

‘भुरा वितरण गर्ने कर्मचारीलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने हामीले माग राखेका छौँ,’उनले भने, ‘गाउँपालिका पीडित किसानहरूको कुरा सुन्न चाहँदैन, उल्टै ती कर्मचारी बचाउन चलखेल गरिरहेको छ ।’
पालिकाले रहु माछाको भुरा दिने भनिएको थियो । तर, बजारमा बिक्दै नबिक्ने विगहेड माछाको भुरा किसानलाई वितरणको उनको भनाइ छ । गाउँपालिकाबाट ४२ जना किसानले माछाको भुरा लगेका थिए । किसानहरूले माछाको भुराको लागि प्रतिगोटा डेढ रुपैयाँका दरले अग्रिम रकम जम्मा गरेका थिए ।

गाउँपालिकाले प्रतिगोटा तीन रुपैयाँ पर्ने भनिएको माछाको भुराको लागि डेढ रुपैयाँ कार्यालयका तर्फबाट बेहोर्ने गरी सूचना प्रकाशित भएको थियो । गाउँपालिकाले गत जेठ १४ गते माछा पालक किसानका लागि माछाको भुरा पचास प्रतिशत अनुदानमा दिने भन्दै जेठ २८ गतेभित्र रकम जम्मा गर्न सूचनामार्फत आव्हान गरेको थियो भने असार १२ गते माछाको भुरा वितरण गरेको थियो ।
कचनकवल गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो । वितरणको जिम्मा कर्मचारीहरू दीपक अधिकारी, मशिन्द्र यादव र हेमराज पौडेलले लिएका थिए ।

घटनाको छानबिनका लागि माछापालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै कचनवकल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई शुक्रबार उजुरी दिएका थिए ।
गाउँपालिका अध्यक्ष राजवंशीले भुरा वितरण गर्ने गाउँपालिकाका कर्मचारीबाट कमीकमजोरी भएको स्वीकारेका छन् । पीडित किसानहरूले राखेको मागको बारेमा उनीहरूसँग छलफल गरिएको बताउँदै अध्यक्ष राजवंशीले भने,‘छलफलमा कम भएको भुरा पुनः वितरण गर्ने, माग बमोजिमको जातको भुरा दिने र दोषी कर्मचारीमाथि छानबिनका लागि समिति गठन गरेका छौँ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्