झापा, असार १८ । जंगली हात्तीको आक्रमणमा परी आज बिहान मेचीनगरमा एक वृद्धाको ज्यान गएको छ । अर्की महिला घाइते भएकी छन् ।

मेचीनगर नगरपालिका–१० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको हात्ती आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । भारत सिलिगुडी घर भई हाल मेचीनगर १० बस्ने ज्वाइँ बैजनाथ साहसंगै बस्दै आएकी साहलाई पूजा गर्न घरबाहिर निस्केको बेला बिहान सवा ५ बजे मागुरमाडी जंगलवाट निस्केको हात्तीले घरनजिकै आक्रमण गरेको हो । प्रहरीका अनुसार आक्रमणवाट उनको घटनास्थलमै मृत्यु भएको थियो । यो टोल धुलाबारी माविनजिकै छ।

त्यस्तै, हात्तीको आक्रमणबाट बुद्वशान्ति गाउँपालिका– ५ धिमाल गाउँकी ३८ वर्षीया कमला धिमाल घाइते भएकी छन् । उनलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएको छ ।
साहलाई आक्रमण गरेपछि हात्ती आक्रामक भइ उत्तरतिर लागेको र सोही क्रममा चिया श्रमिक धिमालमाथि जाइलागेको प्रहरीले जनााएको छ। बिहान ६बजेतिर बुद्धशान्ति– ५ धिमाल गाउँ बस्ने धिमाललाई मेचीनगर– ९ बस्ने हेमन्त प्रसाईको बुद्धशान्ति ५ स्थित चिया बगानमा काम गर्न जाने क्रममा बाटोमा जंगली हात्तीले सुडले हानी घाईते बनाएको हो । घाइतेको अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।यसअघि गत मंगलवार बिहान हल्दिबारी गाउँपालिका २ स्थित देउनिया खोलाको पुलको उत्तर चिया बगानको छेउमा हात्तीको आक्रमणबाट भद्रपुर ७ बस्ने ५३ वर्षिय गिरेन कर्मकारको मृत्यु भएको थियो ।चालु आर्थिक वर्ष २०७९-८० मा हालसम्म एक गैरनेपालीसहित आठ जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्