झापा, असार १८ । नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

नेपालले सोमबार सिंगापुरलाई ९७ रनले पराजित गर्‍यो । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । जवाफमा आएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।
नेपालले मंगलबार हुने फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । सोमबार भएको अर्को सेमिफाइनलमा घरेलु टोली मलेसियाले हङकङलाई ७८ रनले पराजित गर्‍यो । सिंगापुरले आक्रामक सुरुआत गरे पनि नेपाली स्पिनरले उनीहरुलाई अंकुश लगाएका थिए ।
ओपनर रोशन रविचन्द्रनले सर्वाीधक २४ रन बनाए । उनले ३७ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । कविर बेरिलाले ११ रन बनाए । प्रणव धानुका १४ रनमा अविजित रहे । उनले दुई चौका प्रहार गरेका थिए ।
नेपालबाट कृतिक कामतले ३ विकेट लिए । उनले २.३ ओभरमा ९ रन खर्चे । कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेन भट्टले १-१ विकेट लिए ।
यसअघि सूर्यांशु कोइराला र निरज यादवले १२ ओभरभित्र ६३ रन जोडेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सूर्यांशु आउट भएपछि यो साझेदारी टुटेको थियो । उनले ४९ बल खेल्दै ६ चौका प्रहार गरी ४३ रन बनाए । निरजले ४२ रन जोड्नेक्रममा ४९ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।
आशिष लुहार ६, नरेन ३, प्रतिक १२ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो । सन्तोष यादवले २४ बल खेल्दै २ चौकासहित १८ रन बनाए । अशोक धामी शून्यमै आउट भएपछि कप्तान अभिषेक तिवारी र दीप भुजेलले आठौं विकेटमा ३९ रनको महत्त्वपूणर् साझेदारी गरे । अभिषेकले २१ बल खेली समान १ चौका र छक्का प्रहार गर्दै २५ रन बनाए ।
दीप १५ बलमा १२ रन बनाई अविजित रहे । कृतिक कामत अन्तिम ओभरमा १० रन बनाई अविजित रहे । उनले ५ बल खेली १ चौका प्रहार गरे । प्रतीक पोखरेल २ बल खेली ३ रन बनाई अविजित रहे । सिंगापुरबाट हरिहरनले ३ विकेट लिए । उनले ७ ओभरमा ३१ रन खर्चे । हर्ष वेंकटर्म र कविर बेरिलाले २-२ विकेट लिए ।

नेपाले थाइल्यान्ड र मलेसियालाई पराजित गरि समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । माल्दिभ्स र इन्डोनेसियामाथि विजय हात पारेको सिंगापुर अन्तिम खेलमा हङकङसँग पराजित भएपछि समूह ‘बी’ को उपविजेता बनेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्