बिर्तामोड, असार १८ । बिर्तामोड नगरपालिकाले लघु उद्यमीहरुलाई प्रविधि सहयोग गरेको छ ।


गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न वडाका उद्यमीहरुलाई सोमवार प्रविधि हस्तान्तरण गरेको हो ।

नगरपालिकाको हलमा आयोजित एक कार्यक्रमका बीच लुगा सिलाउने मेशिन १० थान, इन्टरलग मेशिन ४ थान, ब्याग सिलाउने मेशिन १ थान, तौल मापन गर्ने मेशिन १ थान, अचार बनाउनका लागि ग्यास चुलो १ थान, बाख्रापालनका लागि तारजाली १८ थान वितरण गरिएको हो । यस्तै धुप पेपर कटिंग मेशिन १ थान, पोते उन्नका लागि ग्लु गन २० थान, व्युटी पार्लरको लागि आइरन ६ थान, ड्रायर ६ थान वितरण गरिएको कार्यक्रम संयोजक चनिमाया तामाङले जानकारी दिइन् ।
व्याग सिलाउने मेशिन वडा नम्बर ९ को पारिजात उद्यमी समूहलाई प्रदान गरिएको हो । उक्त सामग्रीहरु नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ३का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ६ का वडाध्यक्ष सूर्य कन्दङ्वा र वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले आफ्नो सीप र क्षमतालाई सदुपयोग गर्दै अघि बढ्नु पर्ने बताइन् । राज्यको सम्पति दुरुपयोग गर्न नहुने भन्दै उनले नगरले प्रदान गरेका सामग्रीहरुको सहि सदुपयोग गर्न आग्रह गरिन् । । सीपलाई श्रम र श्रमलाई बजारसंग जोड्नु पर्ने बताउँदै नगर प्रमुख प्रसाईले वैदेशिक रोजगारीमा जानुभन्दा यहि मेहनत गर्न सके जीवनस्तर उकास्न सकिने धारणा राखिन् । उनले आर्थिक उपार्जनका लागि उत्पादनमा जोड दिन सहभागीहरुलाई आग्रह गरिन् ।

यस्तै नगर उपप्रमुख संग्रौलाले गरिवी निवारणका लागि गरिएको यो सहयोग ठिकसंग उपयोग गर्नु पर्ने बताए । प्रविधिसंग जोडेर काम गर्नु पर्ने बताउँदै उनले वितरण गरिएको प्रविधि उपयोग भए नभएको बारे नगरले अनुगमन गर्ने बताए । अनुगमनका क्रममा सामग्री उपयोग नभएको पाइए फिर्ता ल्याएर अन्यलाई वितरण गर्ने जनाइएको छ ।
कार्यक्रममा लघु उद्यम विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले प्रदान गरेको तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । व्युटीपार्लर तालिममा सहभागी ६ जना, सिलाई कटाई तालिममा सहभागी १३ जना र एसी,फ्रीज मर्मत तालिममा सहभागी १ जनालाई प्रमाणपत्र वितरण गरिएको हो ।
नगरपालिकाले लघु उद्यम विकास कार्यक्रमअन्तर्गत व्युटीपार्लर, सिलाई कटाई , फुल बनाउने, धुपकाँटी बनाउने, मुढा बनाउने, ढाका बुनाई, पोते बनाउने, अचार बनाउनेलगायतका तालिमहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्