झापा,असार १९ । कोशी प्रदेशभरिका साहित्यकारहरुको उपस्थितिमा झापाको बिर्तामोडमा बृहत कवि सम्मेलन सम्पन्न भएको छ ।

साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोड १ को आयोजनामा प्रादेशिक कवि सम्मेलन भएको हो । सम्मेलनमा कोशी प्रदेशभरिका साहित्यकारसंगै भारत आसामका साहित्यकारहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा झापा , मोरङ, इलाम , पाँचथर ,ताप्लेजुङ ,तेह्रथुम , सुनसरी , धनकुटा ,भारतको आसामलगायतक ठाउँका ५० भन्दा बढी कविहरुले कविता वाचन गरेका थिए ।त्योसंगै समावेशी गीत नृत्य पनि प्रस्तुत गरिएको थियो ।

साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष भगवती ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रा.डा. टंकप्रसाद न्यौपानेले गरेका थिए । कार्यक्रममा असम नेपाली साहित्य सभाका अध्यक्ष दुर्गा खतिवडाको विशेष आतिथ्य रहेको थियो । धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फे , दमक प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति हेम अधिकारी , आख्यानकार राजेन्द्र संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै साहित्यकार गोपिकृष्ण खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष इन्द्रप्रसाद कट्वालले स्वागत गरेको कार्यक्रमको संचालन एलसी श्रेष्ठ र सुनिता तामाङले गरेका थिए ।

कवि सम्मेलनको अघिल्लो दिन प्रतिष्ठानले गजल साँझ आयोजना गरेको थियो । गजल साँझमा दर्जनौं स्रष्टाहरुले गजल गायन र वाचन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्