झापा, असार १९ । इटहरीको चौबाटो चोकमा मंगलबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ट्राफिक र जनपथ प्रहरी चोकमा डियूटीमा रहेका बेला टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि तीन घण्टाभन्दा बढी इटहरीको अवस्था तनाबग्रस्त बन्यो।

दिउँसो ३.४५ बजेतिर ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुने महिलाको पहिचान हुन सकेको छैन । स्कुटरमा मृतक महिला र उनकी छोरी सवार थिए।
टिपर चालकले ठक्कर दिएपछि घाइते भएकी महिलालाई ब्याक गरेर मारेको प्रत्यक्षदर्शीले दावी गरेका छन्। दुर्घटनालगतै स्थानीयले टिपरका चालकलाई कुटपिट गर्न थालेपछि ती चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सुरक्षा प्रदान गरेको थियो।

घटनापछि आक्रोशित भएका स्थानीयले टिपरमाथि ढुंगामुढा गरे । सो क्रममा प्रहरीलाई समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन पटकपटक लाठी चार्ज गर्दा पनि स्थानीयको आक्रोश साम्य भएन। तीन घण्टाभन्दा बढीसम्म स्थानीयले चौरास्ता चोकमा ढुंगामुढा गर्दै बिरोध गरेकाले गर्दा स्थिति तनाबग्रस्त बनेको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि केही राउन्ड अश्रुग्यास समेत प्रहार गरेको जनाएको छ । साँझतिर स्थिति सहज बनेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्