झापा, असार १९ । दक्षिणी झापाको कचनकवल गाउँपालिका– ७ बालुवाडीस्थित साना किसान कृषि सहकारी संस्थाको रकम हिनामिना गर्नेलाई कानुनबमोजिम कडा कारबाहीको माग गर्दै नेकपा (माओवादी केन्द्र) कचनकवलले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

सहकारी संस्थाका प्रबन्धक युवराज खत्री करिब दुई करोड रकम हिनामिना गरी फरार रहेकोले उनलाई प्रहरी लगाएर तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने माग राख्दै नेकपा (माओवादी केन्द्र) कचनकवलका अध्यक्ष शुकराज लिम्बू (किरण) र सचिव मोती राजवंशीले गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई मंगलवार सो ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा गाउँपालिकाका गरिब, निमुखा किसानहरूले आफ्नो छाक काटेर सहकारीमा जम्मा गरेको बचत रकम फिर्ता लिन जाँदा नपाएको भनी पीडितहरूको गुनासो रहेको उल्लेख छ ।


संस्थाको सत्य तथ्य घटना बाहिर ल्याई पीडितहरुलाईं न्याय र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरिएको छ । अन्यथा आफ्नो पार्टी मूकदर्शक बनेर बस्न नसक्ने र चरणबद्ध आन्दोलनसहित कानुनी उपचारको बाटोमा जाने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।
यता गाउँपालिकाले हिनामिनामा संलग्नलाई कारबाही गर्न प्रहरीलाई सिफारिस गरिसकेको जनाइएको छ ।
कचनकवल– ७ स्थायी ठेगाना भएका संस्थाका प्रबन्धक खत्री गत चैत ११ गतेदेखि रकम हिनामिना गरी फरार भएका हुन् । सहायक प्रबन्धक निरुमाया राजवंशीसँग मिलेर दुवैले त्यति रकम हिनामिना गरेको खुल्न आएको छ । प्रबन्धक खत्री र सहायक प्रबन्धक राजवंशीले करिब दुई करोड रकम हिनामिना गरेको कुरा स्वीकार गर्दै मन्जुरीनामा गरेका छन् ।
सहकारी ऐनको दफा १२२ अनुसार कसुरदार देखिएका दुवैलाई कानुनी कारबाही गर्न प्रहरीलाई सिफारिस गरिएको गाउँपालिकाका सहकारी शाखाका गौरव रिजालले जानकारी दिए । दुवैले कृत्रिम ऋणी खडा गरी सदस्यहरूको त्यति धेरै रकम हिनामिना गरेको पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्