झापा, असार २० । असार मसान्तमा पनि ऋणीहरुले साँवा र ब्याज तिर्न नखोजेपछि झापाका सहकारी संस्थाहरु स्थानीय तहसंग गुहार माग्न पुगे । त्यही गुहारलाई मानेर जिल्लाका केही पालिकाहरुले समयमै सहकारीको ऋण तिर्न आग्रह गर्दै नतिरे नाम सार्वजनिक गर्ने र कानुन बमोजिम कार्वाही चेतावनीसमेत दिए ।

सबैभन्दा पहिला शिवसताक्षी नगरपालिकाले सूचना जारी गर्यो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सूचना जारी गरी यदि समयमा सहकारीको ऋण नतिरी अटेर गरे वा सम्पर्कमा नजाने ऋणीहरुको नाम सार्वजनिक गर्नुका साथै प्रचलित कानुनबमोजिम कार्वाही गर्ने चेतावनी दिए । त्यसपछि दमक नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौलाले पनि त्यही चेतावनीको भाषामा सूचना जारी गरे ।त्यसपछि गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले भने केही नम्र भाषामा सूचना जारी गरी आफ्नो सहकारी संस्थालाई समस्याग्रस्त हुनबाट बचाउन , सहकारी संस्थाबाट लिएको ऋण तोकिएको समयमा बुझाई कालो सूचीबाट जोगिन आग्रह गरे ।

झापा जिल्ला सहकारी संघले सहकारीबाट लिएको ऋण उठाउने कार्यमा सहजीकरण गरिदिन स्थानीय तहलाई पत्राचार गरेको थियो । संघको पत्र प्राप्त भएपछि शिवसताक्षी , दमक र गौरादह नगरपालिकाले ऋण लिएको सहकारीमा गएर ऋण तिर्न सार्वजनिक सूचना जारी गरेका हुन् । अन्य पालिकाहरुले भने सूचना निकालेका छैनन् ।

यसरी सहकारी संस्थाहरुको आग्रहलाई मानेर केही नगरपालिकाहरुले सूचना जारी गरेकोमा त्यसको तीब्र विरोध भएको छ । वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न स्थानीय तहले पहल गर्नुपर्नेमा उल्टै ऋणीको नाम सार्वजनिक गर्ने धम्की दिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वित्तीय संस्था र सहकारीको ऋणीहरुलाई ऋण तिर्न, नतिरे नाम सार्वजनिक गर्ने र प्रचलित कानुनबमोजिम कार्वाही गर्ने भन्दै नगरपालिकाहरुले जारी गरेको सूचनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको नेपाल कम्युनिष्ट पार्टी झापाका सेक्रेटरी संजय सीले बताएका छन् ।
एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वित्तीय क्षेत्रमा देखा परेको संकट र सहकारी, वित्तीय संस्था र मिटरब्याजीहरुको आतंक र शोषणले जनताको दैनिकी कष्टकर बनेको समयमा जनतालाई सहज र सरल रुपमा ऋण तिर्ने वातावरण चाहिएको उल्लेख गरेको छ ।
विप्लव माओवादीले जनताबिरुद्ध राज्यको जिम्मेवार निकाय पालिकाहरु नै लागेमा आफूहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ ।

त्यस्तै दुर्गा प्रसाई नेतृत्वको राष्ट्र , राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले पनि स्थानीय तहको त्यस कदमप्रति खेद व्यक्त गरेको छ । सामन्तवादी सोच राख्दै नागरिकहरुले सहकारी संस्थाहरुबाट लिएको ऋण तत्काल फिर्ता गर भन्दै कानुनको पाठ पढाउनु जायज नभएको महाअभियानले चेतावनी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्