झापा, असार २० । उमेरले ६० वर्ष पार गरिसकेका हल्दिवारीका विश्वनाथ हास्दाले चियाबगानको क्वाटरमा आश्रय लिएको वर्षौ भइसकेको थियो ।

चियापत्ती टिपेर चारजनाको परिवारको गुजारा गर्नुपर्ने त्यसमा पनि शारीरिक रुपमा अपांगता भएका हास्दालाई क्वाटरमै आफ्नो पुस्तौ पुस्ता बित्ने चिन्ता लागेको थियो । त्यस्तै श्रीमानले छोडेपछि बेसहारा बनेकी सुकमणि मुर्मू पनि दुई छोराछोरीसहित बगानकै क्वाटरमा आश्रित थिइन् । मुश्किलले गुजारा गरिरहेका हास्दा र मुर्मूले अति विपन्न अबस्थाकै कारण आफ्नो घर बनाउन सकेका थिएनन् ।यस्तै दयनीय अबस्थाबाट गुज्रिरहेका १३ परिवारलाई हल्दिवारी गाउँपालिकाले बुधवार पक्की घर हस्तान्तरण गरेको छ । घर पाएपछि विपन्न परिवारहरु हर्षित भएका छन् ।

अति विपन्न ,पिछडिएको जाति , दलित , अल्पसंख्यक,अपांग ,एकल महिला , बृद्धबृद्धालाई प्राथमिकतामा राखेर हल्दिवारी गाउँपालिकाले घर हस्तान्तरण गरेको हो । घर पाउने १३ परिवारमध्ये सन्थाल समुदायका ९ परिवार छन् । त्यस्तै दलित समुदायका ३ र खस क्षेत्री समुदायका एक परिवार छन् । घर पाउनेहरुमा मराङमाई हेमरम,भीमबहादुर कामी ,विश्वनाथ हास्दा ,धनबहादुर विश्वकर्मा ,लालबहादुर विश्वकर्मा , लुखीराम मुर्मू ,नारायण हेमरम , विशाल हास्दा ,सुनिराम सोरेन ,जसमी किस्कू ,एकराज कट्वाल, सुकमणि मुर्मू र हपना हास्दाको परिवार रहेका छन् । उनीहरुले शौचालय , बिजुली ,खानेपानीलगायतका सुविधा भएको तीन कोठे पक्की घर पाएका हुन् । प्रदेश सरकारको सहयोगमा हल्दिवारी गाउँपालिकाले वडा नं २ स्थित जनता प्रा.वि.को जग्गामा ५८ लाख ५८हजार ७७७ रुपैयाँमा ती घर निर्माण गरेको हो । जय इश्वरी निर्माण सेवाले २०७६ पुष ६ गते संझौता गरी २०७८ असार २० गते निर्माण कार्य सम्पन्न गरेको थियो । निर्माण भएको दुई वर्षपछि ती घर विपन्न नागरिकहरुलाई हस्तान्तरण गरिएको हो ।

विपन्न नागरिक आवास हस्तान्तरण कार्यक्रममा घर पाउने परिवारलाई घरको चाबी र संझौतापत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले विविध कारणले घर हस्तान्तरण कार्यमा ढिलाई भएको बताए । उनले आवाससंगै ती परिवारका लागि रोजगारीको व्यवस्था गर्न समन्वय गर्ने प्रतिवद्धता जनाए । साथै उनले ती सबै परिवारका लागि निःशुल्क बिमा गरिदिने घोषणासमेत गरे । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले नमूना बस्तीको रुपमा गाउँपालिकाले तयार गरेको घरहरुलाई आफ्नै संझेर स्याहार गर्न आग्रह गरिन् ।

कार्यक्रममा वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी , नेकपा माओवादी केन्द्रकी टीका राउतले गाउँपालिकाले निर्माण गरिदिएको आवासले विपन्न परिवारलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । हल्दिवारी गाउँपालिकाले अर्को चरणमा थप आठ परिवारका लागि आवासको व्यवस्था गर्न लागेको जनाइएको छ । जनता प्रा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीम मगरले स्वागत गरेको कार्यक्रमको संचालन गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्