झापा, असार २४ । कोशी प्रदेशको नयाँ सरकार गठन प्रक्रियाप्रति सत्तासिन नेपाली कांग्रेसकै नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् ।

सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडेर समानुपातिक सांसदलाई गठबन्धन दलले मुख्यमन्त्री नियुक्त गरेको भन्दै कांग्रेसका एक केन्द्रीय नेताले असन्तुष्टि जनाए ।‘संविधानको मर्मविपरित सरकार गठन भएको छ ’उनले भने,‘आफूहरुले त्यस्तो संविधान बनाएको होइन ।’ संविधानसभा सदस्यसमेत रहेका उनले समानुपातिक सांसदलाई कांग्रेले मुख्यमन्त्री बनाएकोमा समेत असन्तुष्टि जनाए ।

कोशी प्रदेशको नयाँ सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै एमालेले सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दायर गरेको छ ।उक्त निवेदन माथि सुनुवाइका लागि सर्वोच्च अदालतले आजको पेसी तोकेको छ ।
सभामुखको समेत हस्ताक्षर जोडेर सरकार गठनमा लागि आवश्यक ४७ प्रदेश सांसदको बहुमत देखाएर मुख्यमन्त्रीमा गठबन्धन दलका नेता उद्धव थापालाई नियुक्त गरेको निर्णयविरूद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले निवेदन दायर गरेका हुन् ।

कार्कीका वारेस काठमाडौं महानगर २९ का पवनकुमार निरौलाले दायर गरेको रिट निवेदनमा प्रदेश प्रमुख प्रशुराम खापुङ्, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएको छ ।
रिट निवेदनमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा थापालाई नियुक्त गर्ने निर्णय उत्प्रेषणको आदेशले वदर गरी संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबभन्दा ठूलो दलको नेतालाई सरकारको नेतृत्व गर्ने अवसर दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरि हक प्रचलनको समेत माग दाबी गरेको उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्