बिर्तामोड , असार २४ । विगत ६ वर्षदेखि तीन वटा वडा कार्यालय भएको एउटै भवनमा कुजिएर बस्न बाध्य बिर्तामोडको ७ नं वडा कार्यालय आजदेखि आफ्नै भवनमा सरेको छ ।

स्थानीयहरुले वडा कार्यालयको लागि १५ कट्ठा १० धुर जग्गा उपलव्ध गराएपछि बिर्तामोड नगरपालिकाको २८ लाख रुपैयाँको लागतमा ७ नं वडा कार्यालयको लागि ४ कोठे पक्की भवन निर्माण भएको थियो ।
आइतबार एक औपचारिक कार्यक्रमका बीच वडा नम्बर ७ स्थित पाथिभरा टोलमा नवनिर्मित भवनको कोशी प्रदेश सांसद एकराज कार्की र बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले रिवन काटेर उद्घाटन गरे ।
यसअघि वडा नं ७ को कार्यालय गरामनीमा रहेको वडा नम्बर ८ र ९ संगै एउटै भवनमा संचालन हुँदै आएको थियो ।

वडा कार्यालयको लागि जग्गा दिने दाताहरुमा प्रदिप खरेल, श्रीप्रसाद उप्रेती, भिमप्रसाद उप्रेती, तुलसीराम कडरिया, कृष्णप्रसाद भट्टराई, प्रदिप खनाल, चुडामणि बराल, डिकुरामदेवी रिजाल, काशी रिजाल, निलम पकुवाललगायत रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्कीले यस वडामा हात्तीको समस्या रहेकोले समस्या समाधानका लागि सबै तहका सरकार लाग्नुपर्ने बताए । पूर्वपट्टीको क्षेत्रमा ‘फेन्सिङ तार’ जडान गरिएपनि पश्चिमी क्षेत्रमा यसको व्यवस्थापनमा जुट्नु पर्ने उनले बताए ।बिर्तामोडको वडा नम्बर ६,७ र ८ हात्ती प्रभावित क्षेत्र पर्दछ ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले वडा कार्यालय सहजरुपमा संचालनका लागि भवन पर्याप्त नभएपनि आगामी दिनमा यसलाई थप व्यवस्थित गर्दै लैजाने बताए । यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष अविरल कृष्ण खरेलले नयाँ भवनबाट वडाका सबै प्रशासनिक कार्य सुरु भएको जानकारी दिए । उनले वडा नम्बर ७ मा चुनावको समयमा मत माग्दा जनतासमक्ष गरेका प्रतिवद्धता पुरा गर्दै जाने विश्वास समेत दिलाए । भवन उद्घाटन कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी ईन्चार्ज देवराज कार्की, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेललगायत विभिन्न संघसंस्था तथा पार्टीका प्रतिनिधि र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्