एजेन्सी । भारतको हिमाचल राज्यको शिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ।
शिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार बिहान गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर–९ खहरे, टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा वली र छोरा मोहन वलीको पहिरोमा परी मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले बताए ।
वडाध्यक्ष खड्काले भने, ‘शिमला पहिरोमा परी हाम्रै वडाका ३ जनाको मृत्यु भएको खबरले हामी दुःखी छौँ । खहरे टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा र छोरा मोहनको पहिरोमा परी मृत्यु भएको छ ।’
जेठा छोरा पनि उनीहरूसँगै बस्ने भए पनि अन्यत्र गएकाले बच्न सफल भएको वडाध्यक्ष खड्काले जानकारी दिए । मंसिरतिर पौरी–गढवालतिर गएका दीपबहादुर वली केही महिनाअघि मात्र शिमला पुगेका थिए । श्रीमती र छोरा मोहन भने २०÷२२ दिनअघि मात्र शिमला पुगेको वडाध्यक्ष खड्काले बताए । उनीहरूको मृत्यु भएपछि रुकुम पश्चिमबाट २ जना आफन्तलाई शिमला पठाएको पनि उनले बताए । गत २४जूनदेखि ९ जुलाई साँझ ६ बजेसम्म मनसून सिजनका क्रममा हिमाचल प्रदेशमा अहिलेसम्म ७२ जनाको ज्यान गइसकेको भारतीय संचारमाध्यमले जनाएका छन् ।