झापा , असार २६ । मेची राजमार्गको फिदिम-ताप्लेजुङ खण्डमा पर्ने हेवाखोलामा ह्युमपाइप राखेर गरिएको डाइभर्सन सफल नभएपछि पेनस्टक पाइप राखेर सवारी र ढुवानीका साधन आवागमन गराइएको छ ।

बाढीका कारण पुल बगेपछि हेवापारिको पाँचथरका तीनवटा स्थानीय तह र ताप्लेजुङ जिल्लासँग सडक सम्पर्क टुटेको थियो । असार २ गतेको बाढीले बगाएपछि सवारी आवागमनमा समस्या हुँदै आएको थियो । बेलिब्रिज निर्माण थालिए पनि ढिलाइ हुने देखिएपछि यसअघि ९० र १ सय २० मिटरका ह्युम पाइपमार्फत खोलाको पानी कटाइएको थियो । तर बाढीसँगै बगेर आएका ढुंगाले ह्युम पाइप थुनेर सडक अवरुद्व गर्दै आएको थियो । जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय इलाम, फिदिम नगरपालिका, जिल्ला प्रहरी कार्यालय पाँचथर, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा स्थानीय माउन्टेन हाइड्रोबाट ६ मिटर लम्बाइ, साढे २ मिटर मोटाइ र १२ एमएम गोलाइका २ थान पेनस्टक पाइप राख्ने काम सकिएसँगै सोमबार साँझदेखि सवारी र ढुवानीका साधन वारपार गर्न थालेका हुन् । पाइपले अहिले भन्दा दोब्बर क्षमता धान्ने भएकाले तत्कालका लागि सवारी र ढुवानी आवागमनमा समस्या नहुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले बताए । डाइभर्सन सफल भएसँगै मेची राजमार्गको फिदिम खण्डमा रोकिएका खाद्यान्न बोक्ने ६० वटा ट्रक ताप्लेजुङ प्रवेश गरेका छन् भने भारपातर्पmको सडकका सयभन्दा धेरै सवारी र ढुवानीका साधन फिदिम र इलाम हुँदै झापा प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्