झापा, असार २६ । मेहनत गर्नसके विद्यालयको शैक्षिक गुणस्तर सुधार्न असम्भव छैन भन्ने गतिलो उदाहरण झापा गौरादह ७ ग्वालडुब्बास्थित इमिनेन्ट कञ्चनजंघा बोर्डिङ स्कुल बनेको छ ।

करिव २० वर्षअघि चल्न नसकेर बन्द हुने अबस्थामा पुगेको ग्रामीण क्षेत्रको सो विद्यालयले यस वर्षको एसईई परीक्षामा ४ जीपीएसहित जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याएको हो ।

बिद्यालयबाट ३६ जनाले एसईई परीक्षा दिएकोमा एकजनाले ४ जीपीए ल्याएका छन् । त्यस्तै २ जनाले ३.९५ सहित ३. ६५ देखि ४ जिपीए ल्याउने १० जना, ३ .२५ देखि ३. ६० जीपीए ल्याउने १३ जना र २ .९५ देखि ३. २० जीपीए ल्याउने १३ जना छन् ।झापा जिल्लाबाट दुईजना विद्यार्थीले ४ जीपीए ल्याएकोमा एकजना सोही विद्यालयका विद्यार्थी धनबहादुर थापा( सुदिप) हुन् । त्यस्तै अंकिता चौलागाँई र अनमोल शर्माले ३.९५ जीपीए ल्याएका छन् । ३.९५ देखि ४ जीपीए ल्याउने झापाका उत्कृष्ट १२ विद्यार्थीमध्ये तीनजना सोही विद्यालयका हुन् । यो हिसाबले आफूहरुको विद्यालय झापाको सर्वोत्कृष्ट बनेको संचालकहरुले दावी गरेका छन् । एसईईमा धनबहादुर थापा( सुदिप) ४ , अंकिता चौलागाँई र अनमोल शर्मा ३.९५ , विराट पाठक ३.९० ,चन्दन शाह ३.८५ , योगेश घिमिरे ३.८० देवेन्द्र ताजपुरिया , आभास खरेल र इश्वर पोखरेल ३.७० , मनोज ताजपुरिया ३.६५ , मञ्जिला मिश्र ३.६० , मुस्कान राजवंशी र श्रद्धा ढुंगेल ३.५० ,निर्दोष रेग्मी , रुजन खरेल र ललिता राजवंशी ३.४० , नविन ताजपुरिया ३.३० , मनिकाकुमारी ताजपुरिया ,मनिका राजवंशी, प्रवेश खनाल ,प्रियंका राजवंशी , विरेन्द्र राजवंशी र समिर विष्ट ३.२५ ,रुपेश राजवंशी, सविन रेग्मी र यसोदा ताजपुरिया ३.२०,श्रवणकुमार ताजपुरिया ,रेनुका तिम्सिना , निशान राजवंशी र काजल राजवंशी ३.१५ , मानस राजवंशी ३.१० ,नेविसा थापा , निराकुमारी राजवंशी , नितेशकुमार राजवंशी र रिजा प्रसाई ३.०५ तथा मनिषाकुमारी ताजपुरियाले २.९५ जीपीए ल्याएका छन् ।

२०५२ सालमा स्थापित सो विद्यालयले पहिलो पटक गर्व गर्न लायक शैक्षिक इतिहास रचेको हो ।आदिवासी जनजातिको बढी बसोबास रहेको पिछडिएको ग्वालडुब्बामा अमला पाण्डेले सो विद्यालय स्थापना गरेकी थिइन् । २०६१ सालमा विद्यालय चल्न नसक्ने अबस्थामा पुग्यो । त्यो अबस्थामा ६ जना स्थानीय सामाजिक र राजनैतिक व्यक्तिहरुले विद्यालय बन्द हुन नदिई संचालनको जिम्मेवारी लिएका थिए । टाटीको बेरा भएको विद्यालयमा ९२ जना विद्यार्थीबाट पठनपाठनको जिम्मेवारी लिएका आफूहरुले १३ बुँदे संकल्प गरेर विद्यालयलाई अहिलेको अबस्थामा ल्याइपुर्याएको विद्यालयका संचालकसमेत रहेका शिक्षक राजेन्द्रकुमार सुवेदीले बताए । उनले विद्यालयको अहिलेसम्मको शैक्षिक इतिहासलाई हेर्दा यस वर्षको एसईई व्याचबाट गौरवान्वित महसुस भएको बताए ।

गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले इमिनेन्ट कञ्चनजंघा बोर्डिङ स्कुलले गौरादहको मात्र नभएर झापा जिल्लाकै इज्जत र प्रतिष्ठा कायम गर्न सफल भएको बताए । धेरै वर्षअघि साविक जुरोपानीको नमूना माविले जिल्ला प्रथम ल्याएकोमा अहिले इमिनेन्टले गौरादहलाई चिनाउन ठूलो मद्धत गरेको उनको भनाई थियो । उपप्रमुख जलवर्षा राजवंशी चौधरीले इमिनेन्टको उत्कृष्ट नतिजाले जनप्रतिनिधिलाई समेत गौरवान्वित बनाएको बताइन् । विद्यालयका अध्यक्षसमेत रहेका कोशी प्रदेशका सांसद अम्बरबहादुर विष्टले आफूहरुले मुनाफा नहेरी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिएको बताए । गाउँमा रहेका विद्यालयलाई पनि उत्कृष्ट बनाउन सकिन्छ भनेर आफूहरुले गरेर देखाएको उनको भनाई थियो ।

उत्कृष्ट विद्यार्थीलाई पुरस्कारै पुरस्कार
जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल इमिनेन्टका विद्यार्थीहरुलाई मंगलवार बधाई तथा सम्मानसहित पुरस्कृत गरिएको छ ।
बिद्यालय सञ्चालक समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य बिष्टको अध्यक्षता तथा गौरादह नगरपालिकाका नगरप्रमुख सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यालयले ४ जीपीए ल्याउने बिद्यार्थी धनबहादुर थापालाई नगद रु २१ हजार, ब्याग तथा मायाको चिनो प्रदान गरेको छ भने ३.९५ जीपीए ल्याउने अंकिता चौलागाँई र अनमोल शर्मालाई नगद रु ५ हजार, ब्याग र मायाको चिनो प्रदान गरिएको छ । त्यसैगरी बिद्यालयले एसईई उत्तीर्ण हुने अन्य बिद्यार्थीहरुलाई ब्याग तथा मायाको चिनोसहित सम्मान गरेको थियो । त्यसैगरी बिद्यालयका सहायक प्रधानाध्यापक मेघराज पौडेलले व्यक्तिगत तर्फबाट ३० हजार नगद पुरस्कार प्रदान गरेका छन् । एक्सिलेन्सी अवार्डअन्तर्गत पाँच जनालाई एक–एक हजार , सामाजिक विषयमा ४ जीपीए ल्याउने पाँचजनालाई एक–एक हजार र जनसंख्या विषयमा ४ जीपीए ल्याउने १९ जनालाई एक–एक हजार नगद पुरस्कार प्रदान गरिएको उनले बताए । यस वर्षदेखि शुरु गरिएको त्यस पुरस्कारलाई आगामी दिनमा निरन्तरता दिइने उनले बताए ।

त्यस्तै सर्वोत्कृष्ट विद्यार्थी थापालाई सोही बिद्यालयमा कार्यरत शिक्षक राजेन्द्रकुमार सुवेदीले रु ५ हजार र सन्देश दाहालले रु २ हजार ५ सय प्रदान गरेका छन् । त्यस्तै नगरप्रमुख सुवेदीले एसईईमा गौरादहबाट उत्कृष्ट नतिजा ल्याउने बिद्यालय र बिद्यार्थीलाई पुरस्कारको घोषणा गरेका छन् । उनले इमिनेन्ट स्कुलले झापामै उत्कृष्ट नतिजा ल्याइ गौरादहको नाम राखेकाले नगर शिक्षा समितिबाट निर्णय गरी नगद १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे भने सो बिद्यालयबाट एसईईमा ४ जीपीए ल्याउने थापालाई नगद रु ५० हजार तथा ३.९५ जीपीए ल्याउने अंकिता चौलागाँई र अनमोल शर्मालाइ जनही २५ ÷ २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । नगरप्रमुख सुवेदीले सामुदायिक बिद्यालयतर्फ राम्रो नतिजा ल्याउन सफल अमर माविलाई पनि नगद रु १ लाख पुरस्कारको घोषणा गरेका छन् । प्रमुख अतिथि नगरप्रमुख सुवेदी ,उपप्रमुख राजवंशी ,शिक्षासेवी अमर दास शिवाकोटी ,विद्यालयका प्रधानाध्यापक भवानीप्रसाद पाठक ,शिक्षकहरु राजेन्द्रकुमार सुवेदी ,मेघराज पौडेललगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रमको संचालन शिक्षक चुडाबहादुर भुजेलले गरेका थिए ।

एसईई टपर थापाको सी.ए. बन्ने चाहना
एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने धनबहादुर गौरादह– ६ निवासी विवेक थापा र दुर्गा थापाका जेठो छोरा हुन् । सामान्य खेतीपाती गर्ने धनबहादुरका बुवा विवेक बैदेशिक रोजारीका क्रममा मलेसियामा छन् ।कक्षा ८ सम्म भानुभक्त मावि दामुनामा अध्ययन गरेका धनबहादुरले कक्षा ९ देखि इमिनेन्टमा पढाई शुरु गरी एसईई दिएका थिए । प्लस टूमा फिजिक्स लिएर साइन्स पढ्ने आफ्नो इच्छा रहेको बताए । उनले प्लस टू सकेर चार्टेड एकाउन्टेट(सी.ए.) बन्ने लक्ष्य रहेको सुनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्