झापा , असार २७ । मोरङको लेटाङ नगरपालिका-३ कृतिमानबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित २ जना युवालाई मंगलबार साँझ पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले लेटाङ-३ का २३ वर्षीय थीरबहादुर राउत र २२ वर्षीय एनोश तामाङलाई पक्राउ गरिएको जानकारी दिए । ब्राउनसुगरको खरिद बिक्री भइरहेको विशेष सूचनाका आधारमा पुगेको इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर विकाश थपलिया नेतृत्वको टोलीले साँझ ७ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले राउतको घरमा खानतलासी गर्दा प्लाष्टिकमा प्याक गरेको अवस्थामा ४९ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । त्यसलगत्तै राउतसहित उनको घरमा ब्राउनसुगर खरिद गर्न पुगेका तामाङलाई पक्राउ गरिएको डीएसपी दाहालले बताए । दुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइने उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्