झापा, असार २७ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झापाको गौरीगञ्जमा तीन बिघा जग्गा भाडामा लिएर सामूहिक धान खेती गर्न थालेको छ ।

कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय नीतिअन्तर्गत जग्गा भाडामा लिएर धान खेती गरिएको पार्टीका जिल्ला सेक्रेटरी सञ्जय सी ले बताए ।

यसअघि कहिले संघर्ष त कहिले छलफलमा दौडिने विप्लवका कार्यकर्ता यतिबेला गौरीगञ्जमा रहेको खेतीमा हिलाम्मे भएर धान रोपिरहेका भेटिन्छन् । झापा जिल्ला पार्टीअन्तर्गतका सम्पूर्ण नेताकार्यकर्ताले असार १० गतेपश्चात् निरन्तर श्रम गरिरहेको पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी ले बताए ।

यतिबेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशैभर सयौं बिघा भन्दा बढी क्षेत्रमा धान लगाइरहेको र पार्टीका सम्पूर्ण नेताकार्यकर्ता श्रमसँग जोडिएको पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी ले बताए । कार्यकर्तासँगै धान रोपिरहेका उनले इलाम र पाँचथरमा चिया , अदुवा ,अलैंचीलगायतको खेती भैरहेको बताए । झापामा धान रोपाइँ भएको बताउँदै अबको केही बर्षभित्रै आफ्नै उत्पादनमा पार्टीका नेताकार्यकर्ता आत्मनिर्भर बन्ने नीतिका साथ पार्टी अगाडि बढिरहेको र धान खेती मात्रै नभएर कृषि तथा पशुपालनलगायतका क्षेत्रमा पनि काम शुरु भैसकेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्